यसकारण ‘नानहाई बुद्धिस्ट राउण्डटेबल’का लागि नेपाल रोजियो

यसकारण ‘नानहाई बुद्धिस्ट राउण्डटेबल’का लागि नेपाल रोजियो

वर्तमान विश्वमा बौद्ध धर्म निकै प्रख्यात भएको छ । एसियासहित विश्वभर बौद्ध धर्मको लोकप्रियता बढ्दै गएको देखिन्छ । नेपालमा जन्मेका शान्तिका अग्रदूत सिद्धार्थ गौतम बौद्ध धर्मका प्रवर्तक हुन् । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल संसारभर चर्चित छ । लुम्बिनी भ्रमणमा वर्षेनी लाखौं पर्यटक नेपाल आउने गरेका छन् । 

छिमेकी मुलुक भारत, श्रीलंका, भियतनाम, लाओस, थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, जापान, रुसलगायतका देशहरुमा बौद्ध धर्मको अभ्यास बढेको छ । चीनमा विगत दुई हजार वर्षदेखि बौद्ध धर्म मानिँदै आएको छ । ईश्वी सम्वतको प्रथम शताव्दीतिर चीनमा बौद्ध धर्मको प्रवेश भएको मानिन्छ । त्यहाँ बौद्ध धर्म मान्नेहरुको संख्या निकै बढेको छ । 

तसर्थ नेपाल र चीनलाई बौद्ध धर्मले थप नजिक ल्याएको छ । चीनले नेपालमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । राजधानी काठमाडौंमा बौद्धमार्गीहरुको निकै महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम ‘नवौं नानहाई बौद्ध सम्मेलन’ सफलताका साथ सम्पन्न भएको छ । हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतिमा  ‘द नाइन्थ नानहाई बुद्धिस्ट राउण्डटेबल’ कार्यक्रम भएको हो ।

कार्यक्रममा २८ देशका उच्च पदस्थ सरकारी अधिकारी तथा भिक्षुहरुको उपस्थिति थियो । बौद्ध धर्मावलम्बीहरुका लागि महान उत्सव ठानिएको सम्मेलनको पहिलो चरणमा काठमाडौं फोरम र दोस्रो चरणमा युवा फोरम आयोजना गरिएको हो । काठमाडौं फोरमको कार्यक्रम बिहान ९ बजे शुरु भएर दिउँसो २ बजे र युवा फोरमको कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ साढे ५ बजेसम्म चलेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कार्यक्रममा ‘एउटै धर्मको बहाव, विश्वको मेलमिलाप, सहमति निर्माण, आदानप्रदान र सहकार्य’ विषयमा छलफल गरियो । भगवान गौतम बुद्धको पदचापलाई पछ्याउँदै नानहाई सम्मेलनले गएको नौ वर्षदेखि शिक्षा, परोपकार, स्वास्थ्य, युवाको क्षेत्रमा काम गर्दै आएको जानकारी दिएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो भएको उल्लेख गर्नुभयो । 

दुई मुलुकलाई सीमाले मात्र नभई हिमालहरुको भव्य अँगालो, नदीहरुको प्रवाह र संस्कृतिको बन्धनले बाँधेको उहाँको भनाइ छ । नेपाल र चीन बीचको सम्बन्धलाई उक्त सम्मेलनले अझै सघन बनाउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । चीनमा निर्मित नेपाली शैलीका गुम्बा, स्तुपा, वास्तुकला र लुम्बिनीमा बनेको चिनियाँ गुम्बाको भव्यताले दुई देशको सम्बन्धलाई थप गाढा बनाएको उल्लेख गर्दै उहाँले चीनको नानहाई बौद्ध एकेडेमी र लुम्बिनी बौद्ध विश्वविद्यालय बीचको सहकार्यले ज्ञानको ज्योति छर्ने अपेक्षा राख्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि काठमाडौंमा भएको उक्त सम्मेलन निकै महत्वपूर्ण रहेको बताउनुभयो । गौतम बुद्धको जन्मथलोमा यो कार्यक्रम हुनुले सम्मेलनको महिमालाई उँचो बनाएको उहाँको जिकिर छ । त्यसैगरी, चीनको बौद्ध संघका उपाध्यक्ष एवम् सम्मेलनका संस्थापक यिन शुनले नेपाल बौद्ध अनुयायीहरुका लागि आदर्श मुलुक भएको उल्लेख गर्नुभयो । 

संसारको छानो हिमालयमा सुशोभित नेपाल र चीनबीच हजारौं वर्षदेखि अविरल रुपमा बौद्ध दर्शनको आदानप्रदान भइरहेको बताउँदै उहाँले सम्मेलनमा विभिन्न प्रस्तावहरु पनि राख्नुभयो । बौद्ध धर्मको दायरा बढाउनुपर्ने, बौद्ध धर्मको प्रचार गर्नुपर्ने, बौद्ध धर्म शिक्षामा जोड दिनुपर्ने, लुम्बिनीदेखि चीनसम्म नियमित हवाई उडानको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो । 

उहाँका अनुसार त्यसले धार्मिक र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दछ । मन्तव्यका क्रममा उहाँले लुम्बिनीस्थित चिनियाँ बौद्ध मन्दिरको तेस्रो चरणको निर्माणलाई तीव्रता दिँदै लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान केन्द्रको विकासलाई प्रोत्साहन गर्नुपर्ने कुरा उठाउनुभएको थियो । नेपालको प्राचीन बौद्ध संस्कृतिका अवशेषहरुको संरक्षणलाई प्रवद्र्धन गर्नुपर्नेमा उहाँको जोड छ । 

उहाँले भन्नुभयो, ‘यो चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पाँचौं वार्षिकोत्सव हो । विश्व बौद्ध मञ्चद्धारा बनाइएको माउण्ड सुइडोउ घोषणा अभ्यासको यो पहिलो वर्ष हो । बुद्धको करुणाको भावनालाई अगाडि बढाउन, चीन र नेपाल बीचको धार्मिक र सांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउन, नानहाई बौद्ध धर्मको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न र मानव सभ्यताको आदानप्रदान र आपसी समझदारीलाई सुदृढ गर्न गोलमेच नेपालमा आयोजना भएको हो ।’

कम्बोडियाका धार्मिकमन्त्री चे बोरिनले उक्त सम्मेलन विश्वभरकै लोकप्रिय सम्मेलन भएको बताउनुभयो । बुद्ध जन्मेको देशमा सो सम्मेलनको आयोजना हुनु अत्यन्त गौरवको विषय भएको उहाँको भनाइ छ । कम्बोडियाको जनसंख्याको ८० प्रतिशतले बौद्ध धर्म मान्छन् । कम्युनिटी अफ मोनासट्री अफ मंगोलियाका नरगुई सैनबुईयानले राष्ट्रहरुको सीमा भएपनि बौद्ध ज्ञानको कुनै सीमा नहुने धारणा राख्नुभयो । 

बुद्धको उपदेश, ज्ञान र करुणालाई बौद्ध धर्मावलम्बीहरुले ज्योतिको रुपमा लिनुपर्ने उहाँको बुझाइ छ । सेन्जेन ओभरसिज फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष वाङ छ्याङले सम्मेलनमा सेञ्जेन र काठमाडौंबीचको सम्बन्धबारे स्मरण गर्नुभयो । सन् २०२४ को जनवरीपछि दोस्रोपटक नेपाल भ्रमण गरेको उल्लेख गर्दै उहाँले बुद्धले संसारको हरेक कुनामा उज्यालो छरेको बताउनुभयो । 

कार्यक्रममा उपस्थित अन्यले बुद्धले देखाएको पवित्र मार्गमा हिँड्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, दिउँसो भएको युवा फोरमको कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी उपस्थित भएका थिए । सम्मेलनमा साझा भविष्यको विश्वव्यापी अवधारणामाथि छलफल गरिएको थियो ।

टिप्पणीहरू