कीर्तिपुरमा उपकुलपतिको कार्यालय अगाडि धर्ना
त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । छ बुँदे माग राख्दै आजदेखि पहिलो चरणको आन्दोलन थालिएको जनाएका छन् । उनीहरुले आज त्रिवि उपकुलपति (भीसी) कार्यालयअगाडि धर्ना दिएका हुन् ।
त्रिविमातहतका आंगिक क्याम्पसमा पनि धर्ना दिइएको त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले बताए । आगामी शुक्रबारसम्म नियमित बिहान १० बजेदेखि १ घण्टा धर्ना कार्यक्रम राखिएको छ ।
कार्की भन्छन्,‘यो हाम्रो पहिलो चरणको आन्दोलन हो । काम प्रभावित नहुनेगरी पुस ५ गतेसम्म नियमित बिहान १ घण्टा आन्दोलन गर्छौं । हाम्रा केही माग छन्, त्यो सम्बोधन गरिदिनुपर्यो भन्ने हो ।’
उनीहरुले त्रिविमा वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र करारका सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त स्थायी गर्न, नेपाल स्वास्थ्य सेवा ऐनअनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि लागू गर्न, रिक्त दरबन्दीमा तुरुन्त विज्ञापन गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी, लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नति सुनिश्चित गर्न, सम्पूर्ण कर्मचारीले सञ्चित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुँदा पाउने व्यवस्था गर्न र विगतमा खोसिएका सेवासुविधा पुनः सुचारु गर्न भनिएको छ ।
तस्बिरहरुः











टिप्पणीहरू