शंकर लेखेको लेख्यै,रवि पक्षधरले खेदेको खेद्यै

शंकर लेखेको लेख्यै,रवि पक्षधरले खेदेको खेद्यै
सुन्नुहोस्

एमाले महासचिव शंकर पोखरेल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा होस् वा विपक्षीको चर्को निन्दा गर्न उनले सामाजिक सञ्जालको राम्रै उपयोग गरिरहेको देखिन्छ । 

प्रधानमन्त्री र अध्यक्षको आलोचना गर्नेमाथि संगठित प्रतिवाद गर्न एमालेले सामाजिक सञ्जालको प्रयोग बढाउने नीति अपनाइरहँदा महासचिव पोखरेलले दिनहुँजस्तो स्टाटस लेखिरहेका छन् । पछिल्लो एक महिनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मात्रै लक्षित गरेर फेसबुकमा दर्जनौँ स्टाटस लेखेका उनले आज पनि कटाक्षपूर्ण टिप्पणी गरेका छन् । 

मिडिया स्टन्ट र प्रोपोगाण्डाबाट उदाएकाहरु त्यसैको दुरुपयोगबाट पतन हुने दावी गर्दै पोखरेलले भनेका छन्, ‘अति सर्वत्र वर्जयेत् अर्थात् अति गर्दा खति हुन्छ ।' 

हिरासतमा रहेका रवि लामिछानेको तस्वीर रास्वपा समथर्कले नै सार्वजनिक गरेको भन्दै उनको यस्तो टिप्पणी आएको हो । ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरु त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्', पोखरेलले कटाक्ष गरे । 

पोखरेलले रास्वपा पतनको बाटोमा लागेको भनिरहँदा उनको स्टाटसमा एमालेविरुद्ध नै धेरै प्रतिक्रिया आएको छ । विकास पाण्डेको प्रतिक्रिया छ,‘एमालेको हुनेवाला अध्यक्ष,कथित बुद्धिजीवी अनि केपी ओलीका उत्तराधिकारीको सोचाइ,नयाँ पुस्ताप्रतिको वितृष्णा अनि घृणा यस्तो छ भने.....राम राम मात्रै भनौँ ।’

विकासलाई जवाफ दिँदै पोखरेलले भनेका छन्, ‘यहाँ नयाँ र पुरानोको कुरा कहाँ आयो ?’
 

टिप्पणीहरू