पोखरामा चीन मिस्सिएको भव्य "फेवा संवाद"

पोखरामा चीन मिस्सिएको भव्य "फेवा संवाद"
सुन्नुहोस्

पोखरामा आजदेखि ‘फेवा संवाद २०२४’ शुरु भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको संवादमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजले संयुक्त रुपमा आयोजना गरेको दुई दिने संवादमा नेपालसहित दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका विज्ञ,अर्थशास्त्री, थिङ्क ट्याङ्क,नीति निर्माता तथा राजनीतिज्ञहरुको सहभागिता छ ।

आयोजकका अनुसार संवादमा नेपालका २०, चीनका ३०,भारत, पाकिस्तान,श्रीलङ्का र बङ्गलादेशबाट तीन तीन जना सहभागी छन् । भुटान, मलेसिया,सिङ्गापुर, इन्डोनेसियाको पनि सहभागिता छ ।

सन् २०१७ मा स्थापित चाइना सेन्टर फर साउथ एशियन स्टडिजले दक्षिण एशियाली मुलुकको राजनीति,अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रीय सुरक्षाको अध्ययन, अनुसन्धान र बौद्धिक आदानप्रदानमा विभिन्न खालका सहयोग गर्दै आएको छ । यसबाट चीन र दक्षिण एशियाली मुलुकबीच ती क्षेत्रमा मैत्रीपूर्ण सहयोग सम्बन्ध कायम राख्न सहयोग पुगेको बताइएको छ ।

चाइना सेन्टर फर साउथ एशियन स्टडिज र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धपछि क्षेत्रीय एकीकृत आर्थिक सम्बन्ध र विकासमा ठोस योगदान पुगेको जानकारी दिइएको छ । पछिल्लो समय विश्व अर्थतन्त्रको केन्द्र एशियातर्फ बढ्दै गएकाले चीन र दक्षिण एशियाली मुलुकहरुमा अवसरसँगै चुनौति पनि थपिनु स्वभाविकै  हो । यसका लागि बेलैमा सबल नेतृत्व र उपयुक्त अवधारणाको तर्जुमा गर्नु त्यस्तो चुनौतिको सामना गर्ने प्रमुख उपकरण हुने विश्वास लिइएको छ ।

कार्यक्रममा चीन, पाकिस्तानसहित मुलुकका राजदूतहरु, एमाले/राप्रपासहित दलका नेताहरु,रास्ट्र बैंकका पूर्व गभर्नरहरुसहित प्राध्यापक, बुध्दिजीवी, सन्चारकर्मीहरुको बाक्लो सहभागिता देखिन्छ ।

टिप्पणीहरू