हनि ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर अदालतमा हाजिर

हनि ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर अदालतमा हाजिर
सुन्नुहोस्

हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीले आत्मसमर्पण गरेकी छन् । 

प्रहरीले आफूविरुद्ध अनुसन्धान थालेसँगै भागेकी उनी आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन् । अदालतका प्रवक्ता राम सजिवन महतोका अनुसार आजै मुद्दा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेको छ । 

उनले भने, ‘उनी बिहान पौने १० बजे अदालतमा हाजिर हुन पाऊँ भनी निवेदनसहित उपस्थित भएकी हुन् । अहिले बयान चलिरहेको छ ।’

शाहीको बयान सकिएपछि आजै थुनछेक आदेश आउने महतोले बताए । ‘उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको हो । त्यसैले, बयानपछि आजै थुनछेकको आदेश आउने छ,’ प्रवक्ता महतोले भने ।

भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुखशाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ । उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

टिप्पणीहरू