आखिर गुट चलाउँदैछ चाहिँ कसले ?
अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सिन्छ ! चलनचल्तीको लोकप्रिय यो उखान अचेल एमाले उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र उनका समर्थकमा लागू हुन्छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेलको कुनै गुट नरहेको र आफ्नालागि दुवै जना बराबर रहेको बताएपनि व्यवहारमा पोखरेललाई काखी च्याप्दै आएका छन् । पौडेलले शक्तिशाली मन्त्रालय सम्हाले पनि कार्यकर्तालाई संरक्षण गर्न नसकेपछि अधिकांश कार्यकर्ता महासचिव पोखरेलतिर लागिरहेका छन् ।
बुटवल उपमहानगरअन्तर्गतका १९ वटै वडा कमिटी अध्यक्षले पोखरेल गुटतिर लागेको आशंकामा पौडेलपक्षको थुराईमा परेपछि सामुहिक राजीनामाको तयारी गरेका छन् । पार्टी अध्यक्ष भएपछि एकाएक पौडेलतिर लागेका जिल्ला अध्यक्ष यज्ञ गैरे, पौडेलका विश्वासिला गोपाल राना, सचिवालय सदस्य बाबुराम पन्थीसहितले चिया खाने बहानामा १९ वटै वडा कमिटी अध्यक्षहरूलाई बोलाएर गुटबन्दी गरेको आशंकामा केरकेर भेटेका छन् । गुटबन्दी नगर्दा पनि थुराईमा परेपछि पार्टी नेतृत्वमा रहनुको औचित्य नै के रह्यो र ?– एक वडा कमिटी अध्यक्षले भने– अगुल्टोले हानेको कुकुरझैं तर्सिनुभन्दा कार्यकर्तालाई संगठित गर्दै संरक्षण गरे भैहाल्यो नि !
ती अध्यक्षले दिएको जानकारीअनुसार अध्यक्ष शोभाखर पोखरेलको अध्यक्षतामा बसेको बुटवल उपमहानगर कमिटीले पार्टीको नगर संगठनलाई सुदृढ गराउन कार्ययोजना बनाएको थियो । त्यही कार्ययोजना कार्यान्वयन गर्न, पार्टी काममा एकरुपता ल्याउन र १९ वटै वार्डमा संगठन सुदृढीकरण गर्न नगर अध्यक्षको अनुमतिमा वडा अध्यक्षहरूले छलफल गरेका थिए । छलफलका क्रममा उपाध्यक्ष पौडेलले कार्यकर्ताको संरक्षण गर्न नसकेको बिषय पनि उठेको थियो । तर, त्यहीबापत गुटबन्दी गरेको आशंका पौडेल पक्षधरमा प¥यो । जिल्ला अध्यक्षले नै सामूहिक रुपमा थर्काए ।
अध्यक्ष गैरेसहितले सामूहिक रुपमा थर्काउँदा गुटबन्दी नगरेको भनेर अध्यक्षहरूले प्रतिवाद त गरेका थिए । सहिनसक्नु भएपछि सामूहिक राजीनामा बोकेर पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज लीला गिरीसमक्ष पुगे । गिरीले उनीहरूलाई थामथुम पारेर पठाएका छन् । संगठनलाई सशक्त बनाउन खोज्दा गुटबन्दीको आरोप खेप्नुपर्छ भने राजीनामा दिनु उचित ठानेको वार्ड कमिटी अध्यक्षहरू बताउँछन् । सामूहिक राजीनामा गोजीमा रहेको एक अध्यक्षले जानकारी दिए ।
गत वर्ष सम्पन्न लुम्बिनी प्रदेश अधिवेशनपछि यहाँ गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । अझ मुख्यमन्त्री संसदीय दलका नेता गिरीलाई पन्छाएर उपनेता चेतनारायण आचार्यलाई बनाइएपछि गुटबन्दी चर्किएको हो । महासचिवले प्रदेश अध्यक्षका प्रत्यासी हरि रिजाललाई सुकुम्बासी आयोगमा लगेपछि त पौडेल छाडेर पोखरेल गुट धाउनेको लर्को छ ।
महासचिव पोखरेलको तर्फबाट जिल्ला अध्यक्षमा बाजी मारेका गैरेले भने गुट फेरेका छन् । पोखरेलसँग सम्पर्कमै नरहने उनी पौडेललाई रिझाउन जे–जस्ता हर्कत गर्न पनि तयार हुने गरेको आरोप छ । यहाँसम्म कि अध्यक्ष केपी ओली आउँदासमेत पौडेल जता–जता जान्छन्, उतै–उतै पछि लागेका थिए । गैरेले पार्टी पद्धति भने सिध्याएका छन् । नियमित बैठक बस्ने, बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत कार्यकर्तासमक्ष पु¥याउने शैली लत्याउँदै विशेष निर्देशनका भरमा पार्टी सञ्चालन हुने गरेको छ । जिल्ला अधिवेशनबाट निर्वाचितलाई निर्वाचन क्षेत्रस्तरीय इञ्चार्ज नबनाई मनोनीतहरूलाई बनाएबाट विवादित गैरेले खातापातासमेत आफैँ चलाउने गरेका छन् । विधानअनुसार खातापाता लेखा कमिटी संयोजकबाट चल्छ ।
पार्टी कमजोर र गुटबन्दीले जेलिँदा रुपन्देहीको राजनीति एमालेका लागि निकै चुनौतीपूर्ण बन्दै गएको छ । पार्टी नेतृत्वमा जो भए पनि जिल्लाको राजनीति होटल व्यवसायी गोपाल रानाले चलाउने गरेका छन् । जिल्ला, प्रदेश मात्र होइन, केन्द्रीय नेताहरू नै रानाको चाकडीमा लिप्त छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलका अति विश्वासिला रहेकै कारण राना जिल्ला अध्यक्षभन्दा शक्तिशाली मानिन्छन् ।
टिप्पणीहरू