बौद्ध धर्मबारे समाचार लेख्ने पत्रकारहरुको बेग्लै संगठन
बौद्ध धर्मको विषयमा रिपोर्टिङ्ग गर्ने पत्रकारहरुले छुट्टै संगठन बनाएका छन् । रुपन्देही र नवलपरासीका पत्रकारहरुले ‘शान्ति र समृद्धिका लागि सञ्चार अभियान, नेपाल’ नामक संगठन गठन गरेका हुन् ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सम्पन्न भेलाले डा.बालकृष्ण चापागाईंको अध्यक्षतामा उक्त संगठन निर्माण गरेको बताइएको छ । चापागाईं नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको पूर्वअध्यक्षसँगै राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्षसमेत हुन् ।
उनले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन र सञ्चार विषयमा पिएचडी गरेका छन् । अभियानको सह–संयोजकमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष मनोज पौडेल चुनिएका छन् । कान्तिपुर दैनिकका उप–सम्पादकसमेत रहेका पौडेलले बुद्धिजमको क्षेत्रमा दशकौंदेखि कलम चलाउँदै आएका छन् ।
सदस्यहरुमा पत्रकार महासंघ, नवलपरासीका अध्यक्ष केशव पराजुली, पूर्वअध्यक्ष हरि शर्मा, नरेश केसी, कमल रायमाझी, छाँया पन्थ, रामविकास चौधरी, विनोद परियार, लक्ष्मण पोखरेल, खगप्रसाद चापागाईं, दिलिपकुमार यादव, मोहन पौडेल, पुनहरि बेल्बासे, अनिलकुमार माली, सुमित्रा चापागाईं, प्रल्हाद यादव, टक सुनार र अनिलकुमार तिवारी चयन भएका छन् ।
बुद्ध दर्शनको प्रचारप्रसारका साथै शान्ति र समृद्धिको लागि सञ्चार क्षेत्रबाट पहलकदमी भूमिका खेल्न संगठन गठन गरिएको संयोजक चापागाईंले बताए ।
टिप्पणीहरू