गैंडा बस्ती पसेपछि नगरपालिका गम्भीर
चितवनको राप्ती नगरपालिकाले जंगली जनावर गैंडाको आक्रमणबाट बच्न स्थानीयवासीलाई सचेत गराएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका गैंडा बस्तीमा पसेपछि नगरपालिकाले होसियार गराएको हो । गैंडाले आतंक मच्चाएको र केहीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको जानकारी आएको उल्लेख गर्दै नगरपालिकाले एक्लै हिँड्डुल नगर्न र दैनिक कामकाज गर्दा सतर्कता अप्नाउन आग्रह गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै कतै गैंडा देखिएमा तुरुन्तै जानकारी गराउन पनि भनेको छ ।
‘चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा बस्तीमा प्रवेश गरी राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा खुल्ला रुपमा हिँडिरहेको र केही क्षेत्रमा स्थानीयलाई आक्रमण गरी गम्भीर घाइते बनाई आतंक मच्चाई रहेको हुँदा सम्पूर्ण नगरबासीलाई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं’,सूचनामा भनिएको छ,‘हालसम्म नगरका विभिन्न क्षेत्रमा गैंडा खुल्ला रुपमा हिँडिरहेको जनगुनासो आइरहेको हुँदा तपाईंको घरको आसपासमा गैंडा देखिएमा निकुञ्जका कर्मचारी वा प्रतिनिधि, सामुदायिक वनका अध्यक्ष वा प्रतिनिधि, ईलाका प्रहरी कार्यालय, भण्डारा वा वडाका जनप्रतिनिधिलाई खबर गरिदिनुहुन अनुरोध गरिन्छ ।’
टिप्पणीहरू