माओवादी बैठकमा देखिएका फरक दृश्य
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज सदस्यहरुले धारणा राख्नेक्रम चलिरहेको छ ।
बैठकमा राजनीतिक बहसले जुन चर्चा पाएको छ, बैठकस्थलको परिदृश्यबारे पनि चर्चा-परिचर्चा भैरहेको छ । अघिल्ला बैठकहरुको तुलना यसपाली बेग्दै रौनक छाएको देखिन्छ ।
पहिलो फरक दृश्य हो, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको उपस्थिति । १० वर्षे जनयुद्धका डेपुटी कमाण्डर रहेका उनको ‘कमब्याक’ले माओवादी नेतृत्व तह उत्साहित देखिन्छ । दुई कार्यकाल मुलुकको उच्च पदमा पुगेका पुनको सक्रियताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आत्मविश्वाससमेत बढाएको कतिपयको विश्लेषण छ ।
प्रचण्डले पुनलाई पार्टीको कुन जिम्मेवारी दिन्छन्, त्यो औपचारिक जानकारी दिइएको छैन । तर, जारी केन्द्रीय समिति बैठकमा पुन अध्यक्ष प्रचण्डकै अग्रलहरमा बसेका छन् । उनको अगाडि ‘उपाध्यक्ष’को नेमप्लेट राखिएको छ ।
बैठकमा देखिएको अर्को फरक दृश्य हो, अनावश्यक तामझाम पूर्णविराम । सामान्यतया: यसअघिका बैठकहरुमा ब्यानरसँगै अध्यक्ष प्रचण्डको ठुल्ठुला तस्वीर राख्ने गरिएको थियो । तर, यसपाली भने त्यस्तो देखिएन ।
बैठक हलको दायाँबायाँ शहीदको तस्वीरबाहेक अन्य कुनै ब्यानर तथा फोटो राखिएको छैन । यसले माओवादीको नयाँ मार्गचित्र र रुपान्तरणलाई प्रतिबिम्ब गर्ने केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको बुझाई छ।
भौतिक श्रृंगारले भन्दा वैचारिक छलफल र निष्कर्षले बैठकलाई सार्थक बनाउने उनको तर्क छ । न्यौपाले हिजो भनेका थिए, ‘मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्षको तस्वीर देखिएन । तस्वीर नराख्ने केन्द्रीय कार्यालयको व्यवस्थापन टिमको निर्णय रुपान्तरणको सानो उदाहरण हुनसक्छ।’
त्यस्तै, अध्यक्ष प्रचण्डको खुल्ला अभ्यासले पनि नेताहरुमा खुशी र उत्साह ल्याएको छ । सामान्यतया यसअघिका बैठकहरुमा अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनउपर समूहगत छलफल गर्ने अभ्यास थियो । टोली नेताले नै समूहको निष्कर्ष सुनाउथे । यसपटक भने सबै केन्द्रीय सदस्यहरुलाई प्रतिवेदनमाथि आफ्नो धारणा राख्न दिइएको छ।
अध्यक्षको प्रतिवेदनलाई हिजो केन्द्रीय सदस्यहरुको हातहातमा बाँडिएको थियो । र, आज उक्त प्रतिवेदनमाथि धारणा राख्न चाहनेले नाम टिपाउँदै बोलिरहेका छन् । यसले पार्टीभित्र धेरैभन्दा धेरै वैचारिक छलफल हुने र नयाँ दृष्टिकोण निर्माणमा सहयोग मिल्ने नेताहरुको विश्वास छ।
बैठकमा सहभागी अर्का केन्द्रीय सदस्य भन्छन्, ‘अहिले बोल्न इच्छुकहरुले नाम टिपाउँदै बोलिरहनुभएको छ । यो राम्रो हो । पहिला समूहगत छलफल गर्दा सिमित नेताहरुले मात्रै बोल्ने अवसर पाउथे । यो अभ्यासले धेरै नेताहरुको विचार विमर्श सुन्न पाइएको छ । जति धेरै विचार विमर्श हुन्छ, उति राम्रो निष्कर्ष निस्कन्छ ।’
टिप्पणीहरू