हिउँद लागेपछि कलाकारहरु सर्वाधिक बेफुर्सदी

हिउँद लागेपछि कलाकारहरु सर्वाधिक बेफुर्सदी
सुन्नुहोस्

देश तथा विदेश सर्वत्र यतिखेर मेला–महोत्सवको माहोल छ । किसानको असार १५ जस्तै हो कलाकारका लागि हिउँदको समय । कलाकारको बलियो आम्दानीको स्रोत पनि महोत्सव नै हो । गीत रेकर्डबाट भन्दा ‘स्टेज पर्फमेन्स’बाट छोटो समयमा धेरै आम्दानी हुने कलाकारहरु बताउँछन् । 

वर्तमान समयकी सर्वाधिक व्यस्त गायिका रचना रिमाललाई देशभित्र र बाहिर हुने सांगीतिक कार्यक्रममा भ्याई–नभ्याई छ । साताअघि मात्रै दुबईमा कन्सर्ट गरेर फर्केकी उनले सामाजिक सञ्जालमार्फत् एकैचोटी १५ फरक–फरक ठाउँको कन्सर्ट तालिका सार्वजनिक गरेकी छन् । अस्ति मोरङको दुई ठाउँमा प्रस्तुती दिएकी उनले हिजो पाँचथरको पुषे मेलामा गीत गाइन् । 

भोलि भोजपुरको अरुण गाउँपालिका, पर्सि पाँचथरको छमछमी मेला, पुष २८ गते कैलालीको टिकापुर महोत्सवमा प्रस्तुती दिने रचनाले बताएकी छन् । त्यस्तै पुष २९ गते बिर्तामोड, माघ १ गते ताप्लेजुङ, २ गते काठमाडौँको जोरपाटी, ४ गते गुल्मीको मुसिकोट, ५ गते तनहुँको दमौली, ६ गते पोखरा, ७ गते नारायणगढ र माघ ९ गते बर्दियाको राजापुर महोत्सवमा प्रस्तुती दिने रचनाको तालिका छ । 

यसरी १७ दिनमा १५ कन्सर्ट गर्न लागेकी रचनाले पैसा चाहिँ कति कमाउँछिन् होला ? बताइएअनुसार उनले एक कार्यक्रमका लागि न्यूनतम ४० हजारदेखि एक लाख २० हजारसम्म पारिश्रमिक लिँदै आएकी छन् । कार्यक्रममा प्रस्तुती समयको आधारमा पारिश्रमिक रकम तय हुने बताइएको छ ।

‘कार्यक्रमस्थल टाढा भयो भने उनले राम्रै माग्छिन्, यदि नजिक हो, समय पनि कम छ भने कमै माग्छिन् । फेरि त्यहाँ आयोजकसँगको सम्बन्धले पनि फरक पार्छ । आफ्नै साथीभाईले गरेको कार्यक्रममा कम लिइन्छ, ठूलो र धेरै स्पोन्सर भएको कार्यक्रममा उनले ढेड लाखसम्म लिएको देखेको छु’, रचनासँग निकट मानिएका एक रेकर्डिस्ले टभने । 

स्वदेशको कार्यक्रमभन्दा विदेशको कार्यक्रमबाट झन् धेरै आम्दानी हुने उनले सुनाए ।

 

टिप्पणीहरू