नायक पल शाह फेरि सार्वजनिक आलोचनाको केन्द्रमा परेका छन्।
एक महोत्सवमा दिएको उनको प्रस्तुतीको फोटो यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ, जसले कलाकारको मर्यादा, स्टेज अनुशासन र सह–कलाकारप्रतिको सम्मानबारे गम्भीर प्रश्न उठाएको छ।
भाइरल फोटोमा पल शाहले केही साइड डान्सरहरूलाई भुइँमा घुँडा टेकाएर कुर्सी जस्तै बनाएको र त्यसमाथि बसेर प्रस्तुती दिएको देखिन्छ।
उक्त दृश्य बाहिरिनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको व्यवहारलाई लिएर तीव्र असन्तुष्टि जनाएका हुन् । धेरैले यस्तो प्रस्तुतीलाई असंवेदनशील, अपमानजनक र कलाकारको गरिमासँग मेल नखाने बताएका छन्। “मनोरञ्जनका नाममा मान्छेलाई घोडा जस्तो प्रयोग गर्नु गलत हो,” भन्दै कतिपयले प्रतिक्रिया दिएका छन्।
कतिपय दर्शकले सम्मानजनक तरिकाले प्रस्तुती दिन सकिने थुप्रै विकल्प हुँदाहुँदै पनि यस्तो दृश्य देखाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
उनीहरूले स्टेजमा कुर्सी, टेबल वा अन्य सामग्री प्रयोग गर्न सकिने भन्दै सह–कलाकारको आत्मसम्मानमा आँच नपुग्ने उपाय अपनाउनुपर्ने सुझाव दिएका छन्।
यस घटनाले पल शाहको प्रस्तुती शैली मात्र होइन, कलाकारले स्टेजमा पालना गर्नुपर्ने मर्यादाको सीमा कहाँसम्म हो भन्ने प्रश्नसमेत उठाएको छ।
सार्वजनिक मञ्चमा देखिने कलाकारले मनोरञ्जनसँगै मानवीय गरिमा र सह–कलाकारप्रतिको सम्मान पनि उत्तिकै ध्यान दिनुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको धारणा छ।
यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका शाहको पछिल्लो स्टेज प्रस्तुतीले उनको सार्वजनिक छविमा फेरि नकारात्मक प्रभाव पारेको बताइन्छ ।
भाइरल फोटोबारे पल शाह वा उनको व्यवस्थापन टोलीतर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।