प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा शान्त र भयमुक्त वातावरण तयार पार्न नेताहरूको मात्र होइन, कलाकार तथा कन्टेन्ट क्रिएटरहरूको पनि उत्तिकै भूमिका हुन्छ।
तर यतिबेला आफूलाई ‘डिजिटल इन्फ्लुयन्सर’ बताउनेहरूले नै निर्वाचनको वातावरण धमिल्याउने खालका भ्रमपूर्ण कन्टेन्ट सार्वजनिक गर्न थालेका छन्। अष्ट्रेलियामा बस्दै आएकी कन्टेन्ट क्रिएटर सलिना बस्नेतले एमालेको चुनाव चिन्ह परिवर्तन भएको भ्रम फैलाएकी हुन्। फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत विभिन्न प्लेटफर्ममार्फत् सार्वजनिक गरेको एक भिडियोमा उनले एमालेको चुनाव चिन्ह घण्टी कायम गरिएको दाबी गर्दै मतदातालाई भ्रमित पारेकी छन्।
कुन दलप्रति आस्था राख्ने भन्ने कुरा प्रत्येक नागरिकको निजी मामिला हो। तर मतदातालाई नै दोधारमा पार्ने गरी ‘म्यानुपुलेट’ गर्नु प्रथम दृष्टिकोणमै निर्वाचन आचारसंहिताविपरीत मानिन्छ, जुन अहिले सलिनाले गरिरहेकी छन्। ‘नमस्कार, यो एमालेको अनाउन्समेन्ट भिडियो हो। एमालेका सबै मतदातासम्म पु¥याइदिनुहोला,’ सार्वजनिक भिडियोमा उनले भनेकी छन्, ‘यसअघि चुनाव चिन्ह सूर्य भए पनि यो वर्षदेखि परिवर्तन गरेर घण्टी कायम गरिएको छ, त्यसैले नझुक्किएर घण्टीमै भोट हाल्नुहोला।’
सलिनाको उक्त भिडियोका कारण यतिबेला कतिपय मतदाता अलमलमा परेको देखिन्छ। कतिपयले भने उनीमाथि कारबाही गर्न अष्ट्रेलियास्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमा राम्रै ‘फ्यान फलोइङ’ बनाएकी सलिना पुराना निर्देशक शोभित बस्नेतकी छोरी हुन्। जीवनशैली र मनोरञ्जनसम्बन्धी कन्टेन्ट उत्पादन गर्दै आएकी उनको फेसबुकमा ३५ हजार, इन्स्टाग्राममा २३ हजार र टिकटकमा सवा दुई लाख फलोअर छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत पुराना दलप्रति लगातार घृणाभाव फैलाउँदै आएकी उनी अष्ट्रेलियामा लामो समयदेखि राजन कुँवर नामका युवकसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएको बताइन्छ।
चार वर्षअघि उनीहरू मदिरा सेवन गरी कुटाकुटमा उत्रिएपछि प्रहरीले सँगै बस्न नपाउने गरी मिलापत्र गरिदिएको थियो। तर पछिल्लो समय फेरि उनीहरू सँगै बस्न थालेको अष्ट्रेलियास्थित नेपालीहरू बताउँछन्। सलिनाले ती युवकलाई आफ्ना बुबा शोभित बस्नेतको पछिल्लो चलचित्र ‘पीआर’मा अभिनयसमेत गराएकी थिइन्।