नेपालमै पहिलोपटक चितवनमा तीन दिन जे भयो

नेपालमै पहिलोपटक चितवनमा तीन दिन जे भयो

दुग्ध उत्पादक किसानहरुले लामो समयदेखि दूध बेचेको पैसा पाउन नसकिहेको भुक्तानीको ठूलै समस्याकाबीच चितवनमा त्यही दूधबाट बनेका परिकार र सम्बन्धित प्रविधिहरु राखेर राष्ट्रियस्तरको कार्यक्रम गरिएको छ ।

सहकारी अनि सरकारी र निजी डेरीहरुबाट उत्पादित दूध, दही, घिउ, मही, पनिर, चिज, नौनी, लस्सी, खुवा, क्रिम, चकलेट, मिठाइ, छुर्पी लगायत विभिन्न थरीका पदार्थहरु र पशुपालन एवम् दुग्धजन्य उद्यमका लागि आवश्यक मेसिनरी सामग्रीहरुको प्रदर्शनीसहित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै नेपालमै पहिलोपटक चितवनमा तीन दिनसम्म विशेष कार्यक्रम आयोजना भएको हो । 

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा किसान र दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारका प्रतिनिधिहरुलाई समेत सहभागी गराई माघ २५ देखि २७ गतेसम्म भरतपुरमा आयोजित प्रथम राष्ट्रिय डेरी एक्स्पोको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीबाट समुद्घाटन गरिएको थियो । सो अवसरमा किसानहरुले समयमै दूधको भुक्तानी पाउन नसिकरहेको विषयमा मन्त्रीसमक्ष तीव्र गुनासो पोखिएको थियो ।     

‘कृषि कर्म गर्नेहरुलाई अत्यन्त पीडा छ’, किसानका समस्याप्रति केही भावुक हुँदै मन्तव्यका क्रममा मन्त्री अधिकारीले भने, ‘गाउँ–गाउँमा जान मन लाग्छ तर दुग्ध किसानका पीडाले लज्जित हुन्छु ।’ ६५ मा उधारो किन्ने, १०० मा बिक्री गर्ने तर त्यही दूध किनेको पैसा किसानलाई नदिने– इमानदारीपूर्वक काम नभएकोले समस्या भएको मन्त्री बताउँछन् । अर्काेतर्फ कृषि अनुदान दुरुपयोग भइरहेको प्रसंगसमेत चर्चा गर्दै यो कस्तो मन्त्रालय पाएछु भन्ने भावसहितको अभिव्यक्ति मन्त्रीबाट आएको थियो । 

कृषि क्षेत्रमा व्यापक लगानी भएको रहेछ तर २०–३० हजार नपाएर ग्रामीण भेगका धेरै किसानहरु रोएर बस्नुपरेको अवस्था देखिएको भन्दै उनले देशभरिका सबै किसानलाई समेट्ने गरी अबको केही दिनभित्रै क्याबिनेटबाट निर्णय गराएर नयाँ कृषि ऐन ल्याउन लागिएको जानकारी पनि गराए । ‘दूधबाट उत्पादन हुने धेरै चीज रहेछन्, मैले त दही, मही, घिउ र कुराउनीसम्म खाएको छु’ उनले थपे, ‘माछामासु भन्दा दूधबाट बनेका परिकार सेवन ग¥यौं भने लामो जीवन बाँच्न सक्छौं।’ 

प्रथम डेरी एक्स्पोको दोस्रो दिन चितवन प्रदर्शनी केन्द्रमा ‘दुग्धजन्य क्षेत्रका सम्भावना, अवसर र चुनौती’ विषयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनका प्रमुख अधिकारीहरुलाई एउटैथलोमा राखेर बृहत् अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले भन्छन्, ‘नीति निर्माण तहका सरहरुलाई बोलाएर साथीहरुले पीडा पोख्नुभा’छ । त्यसले उहाँहरुलाई केही न केही घोच्नेछ ।’ भुक्तानी व्यवस्थापन, बजार प्रवद्र्धन, कम लागतमा गुणस्तरीय दूध उत्पादनमा टेवा पु¥याउने उद्देश्यले लामो प्रयासपश्चात् चितवनमा प्रथमपटक राष्ट्रिय डेरी एक्स्पो २०८१ आयोजना हुन सकेको उनले बताए । आगामी वर्ष पनि यसै समयमा यही ठाउँमा अझ विशिष्ट कार्यक्रमसहित डेरी एक्स्पो आयोजना गरिने उनले बताएका छन् । 

अन्तिम दिन दुग्ध क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु रमाइलोसँग बाँड्नेगरी विभिन्न जिल्लाबाट आएका दुग्ध उत्पादक सहकारी संस्थाहरुबीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन भएको थियो भने उक्त डेरी एक्स्पोको अवसरमा यहाँका उत्कृष्ट दुग्ध किसानहरुलाई सम्मान कार्यक्रम समेत गरिएको थियो ।

प्रदर्शनीमा नेपालमै उत्पादित लिक्विड दूध एवम् दूधजन्य उत्पादनहरु लगायत पशुआहार, भिटामिन तथा औषधिहरु, दुग्धजन्य उत्पादन प्याकेजिङका सामग्रीहरु, चिलिङ भ्याट, बटर, क्रिम, खुवा आदि बनाउने मेसिनहरु, साइलेज प्रविधिको घाँस र उक्त घाँस बनाउने मेसिनदेखि लिएर घाँस–पराल काट्ने मेसिन, गोबर सोहोर्ने औजार, गाईवस्तुलाई पानी पिउन सजिलोका लागि अटोमेटिक ड्रिंकर, काउम्याट जस्ता सामग्रीहरु पनि राखिएका थिए । यस्तै पशुबिमा, बैंकिङ प्रणाली र सफ्टवेयर सम्बन्धी स्टल पनि रहेको थियो । प्रदर्शनीमा बाच्छोको खोर विशेष आकर्षणको रुपमा रहेको थियो । 

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले राखेको उक्त खोरका विषयमा संस्थाका प्राविधिक सल्लाहकार खडकबहादुर खड्काले चिसोबाट सुरक्षा, दूध–पानी, घाँस खुवाउन पनि सजिलो र एक ठाउँबाट अर्काे ठाउँमा सार्न मिल्ने हुँदा उक्त खोर बाच्छाबाच्छीको हेरचाहका लागि राम्रो भएको बताए । यस एक्स्पोले दुग्ध किसान र यस क्षेत्रका उद्योगी, व्यवसायीहरुको मनोबल बढाउने काम गरेको उनी बताउँछन् ।    

दुग्ध किसान, उद्योगी र उपभोक्ताका लागि चितवनमा यो धेरै राम्रो कार्यक्रम आयोजना भएको पोखराबाट आएका किसान प्रकाश पोखरेलको प्रतिक्रिया छ । भवानी डेरीका मार्केटिङ म्यानेजर बलराम थापाले यो कार्यक्रमबाट मार्केटलाई के चाहिएको छ भनेर बुझ्ने मौका पाएको बताए । नेपालमै पहिलोपटक चितवनमा यो खालको कार्यक्रम आयोजना हुनु चितवनको लागि गौरवको विषय भएको बताउँदै छिमेकी जिल्लाबाट आएका प्रदर्शक हेटौंडा डेरी इन्डष्ट्रिज प्रालिका सेल्स सुपरभाइजर गुणराज लामिछानेले दूध र दुग्धजन्य पदार्थहरुको बजारीकरणमा यसले राम्रै टेवा पुग्ने धारणा व्यक्त गरे । 

प्रदर्शनीमा सहभागी प्रसन्न प्याकेजिङ मेसिनरी प्रालिका सेल्स मेनेजर अभय अधिकारीले भने, ‘यसबाट हामीले चिनिने मौका पायौं । कनेक्सन पनि बढ्यो ।’ नेपाल चिलिड्ड भ्याट इन्डष्ट्रिज प्रालिका डाइरेक्टर आनन्द सिंहले पनि यो कार्यक्रममार्फत् डेरीसँग सम्बन्धित मेसिन, उपकरणहरु प्रचारप्रसार गर्ने अवसर आफूहरुले पाएको र यस्ता एक्स्पोहरु भइरहनुपर्ने बताए ।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाबाट सहभागी किसान झलकप्रसाद ढुंगानाले दुग्धजन्य उत्पादनको विज्ञापनमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमको अध्यक्षता गरेका चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले एक्स्पो सफल भएको प्रतिक्रिया दिँदै आगामी वर्षहरुमा पनि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग सहकार्य गरी कार्यक्रमहरु गरिने बताए  ।

 

टिप्पणीहरू