भरतपुरमा बिरामीलाई सित्तैमा बस, तर शुरुमै खसखस
मंगलबार दिउँसो उपचार गरेर घर फर्कने बेला भरतपुर अस्पतालले सञ्चालनमा ल्याएको निःशुल्क बस चढ्न पाउँदा गैंडाकोट–८ की उषादेवी सिग्देल खुसीले दंग परिन् । तर, नारायणगढ नपुग्दै खिन्न हुँदै ओर्लिनुपर्यो । ६९ वर्षीया वृद्धा वीरेन्द्र क्याम्पस चोकमा झरेर फेरि भाडाकै गाडी चढेर पुलचोक पुग्नुपरेको थियो । पुलचोकबाट विजयचोक पुग्न फेरि थप भाडा तिरेर अर्काे गाडी चढ्नु त छँदैछ ।
भरतपुर अस्पतालले यसै महिनादेखि बिरामी र बिरामीका आफन्तको सेवामा निःशुल्क बस सञ्चालन गरेर आफैंमा एउटा नौलो र राम्रो कामको सुरुवात त गर्यो, तर शुरुमै 'छेउ न टुप्पो' भइदियो । अहिले भरतपुर अस्पतालबाट मालपोत चोक, जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबीसकोठी अनि क्याम्पस चोकबाट घुमेर विशालचोक हुँदै अस्पतालसम्म मात्र निःशुल्क बस चलाइएको छ ।
‘यो त अधकल्चो भयो’, यसमा अस्ति फर्कंदा चढेकी भरतपुर, बसेनीकी राधिका रेग्मीले भनिन्, ‘कमसेकम पुलचोक पुगेर रिंगरोडमात्रै पूरा चलिदिएको भए अलि लाभदायक हुनेथियो । आँपटारीतिरका मान्छेले पनि सेवा पाउँथे ।’
मंगलबार दिउँसो फर्कने बेला अस्पताल हाताभित्रै गाडी राखेर कर्मचारीहरुले ‘निःशुल्क बस सेवा हो, आउनुस्, आउनुस्’ भन्दै बोलाएपछि गैंडाकोटकी जमुना विक पनि चढेकी थिइन् । तर, नारायणगढ जाँदैन भनिएपछि उनी चौबीसकोठीमै ओर्लेर फेरि पुलचोक पुग्न भाडाकै गाडीमा चढ्नुपर्यो ।
नारायणगढबाट सीधै भरतपुर अस्पताल जान अटोरिक्सा बाहेक अर्काे भाडाको गाडी (म्याजिक)समेत पाउन मुस्किल छ । अटोरिक्साले त्यहीँ चौबीसकोठीबाट अस्पतालसम्म एक किलोमिटर दूरीमा एक जनाको ५०/१०० ठटाउँछ । नारायणगढ, पुलचोकबाट अझ बढी नै लिन्छन्, अटोवालाले ।
सरकारी अस्पतालमा उपचारका लागि आउने भनेको बढीजसो गरीब, विपन्न नै हुन् । ‘हामीले अस्पतालमा फ्रि सर्भिस त दिएका छौं । ओपिडी फ्रि छ, बीमाले गर्दा ७५ प्रतिशत बिरामीलाई सबै सेवा फ्रि छ । तर मान्छे चोकचोकबाट, विभिन्न ठाउँबाट आउँदा उनीहरुलाई यातायात खर्च बढी भए जस्तो लाग्यो’, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भने, ‘चोकबाट यहाँ आउँदा पनि दुई २०० रुपैयाँ, ३०० रुपैयाँ लाग्ने । यहाँबाट फ्रि गरेर पठायो तर आउँदा डेढ–दुई सय, जाँदा डेढ–दुई सय यातायातमै खर्च भइदियो ।’
त्यसैले २-४ सय खर्च पनि गाह्रो हुने विपन्न परिवारका बिरामी र तिनका आफन्तलाई लक्षित गरी अस्पतालले निःशुल्क बससेवा सञ्चालनमा ल्याएको उनले बताए । तर, कमसेकम पुलचोक हुँदै आँपटारीबाट घुमिदिएको भए नारायणगढवासीदेखि पोखरा बसपार्क, गणेशथान, आँपटारी र बसेनीतिरका जनता पनि लाभान्वित हुने थिए । पूरा रिंगरोड घुम्दा क्याम्पसचोक पनि पर्ने नै भयो, विशालचोकका मान्छे पनि छुट्दैनन् ।
नवलपरासी, गैंडाकोटतिरबाट आउने बिरामीले समेत पुलचोकबाट सेवा पाउन सक्थे । अस्ति फर्कने बेला यसमा चढेकी भरतपुर–२२ पटिहानीकी कोपिला उप्रेतीले पनि तत्काल क्षेत्र विस्तारको आवश्यकता औंल्याउँदै सेवा दीर्घकालीन हुनु महत्वपूर्ण हुने बताइन् ।
भरतपुर अस्पतालले गत फागुन १ गतेदेखि एउटा बस बिरामीका लागि निःशुल्क चलाउन थालेको हो । अहिले केही समय ट्रायलको रुपमा संचालनमा ल्याएको बताउँदै आगामी दिनमा रिङ्गरोडमै चलाउने लक्ष्य रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
त्यसो त, अहिले चलाइएकै रुटमा बिहान ७ देखि ११ बजेसम्म र बेलुकी २ देखि ४ बजेसम्म सेवा सञ्चालनमा रहेको अस्पताल प्रशासनले बताउँदै गर्दा बिहान ७ देखि ८ बजेसम्म बिरामी ओसार्न एकखेप र फर्कनको लागि दिउँसो तीन बजेतिर एकपटक मात्रै चलाएको पाइन्छ । फर्कने बेला अस्पतालका कर्मचारीसमेत बिरामी र तिनका आफन्त गरी २०–३० जनासम्म चढ्ने गरेको देखिएपनि बिहान अस्पताल आउने समयमा उही ५–७ जनामात्रै हुने गरेका छन् ।
नर्सिङका विद्यार्थी बोक्ने बा१ग ११७८ नम्बरको बसमै अहिले बिरामीलाई निःशुल्क सेवा दिइएको छ । नर्सिङका विद्यार्थीलाई अर्काे गाडी किन्ने तरखर भइरहँदा यसलाई बिरामीको निम्ति प्रयोग गरिएको हो ।
अहिले नर्सिङका छात्राहरुलाई पनि यसैमा लग्ने–ल्याउने भइरहेको हुँदा बिरामीका लागि तोकिएकै समय पनि पूरा चलाउन नसकिएको चालक बताउँछन् । नर्सिङ कलेजमा नयाँ गाडी आएपछि यसलाई पूरै समय बिरामी बोक्न चलाइने बताइएको छ ।
टिप्पणीहरू