सम्पदा संरक्षणमा राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहका सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको शिलापत्र अनावरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो धारणा राख्नुभएको हो ।
‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्न महत्वपूर्ण छन्', राष्ट्रपतिले भन्नुभयो, 'देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो ।'
अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु रहेको राष्ट्रपति बताउनुहुन्छ । उहाँले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरु नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरि स्तरको सचेतना, जागरुकता र चासो आवश्यक पर्नेमा पनि जोड दिनुभएको छ । भावी सन्ततीका लागि सम्पदाहरु पूर्खा र इतिहासलाई बुझ्ने महत्वपूर्ण कडी हुने उहाँको विश्वास छ ।
टिप्पणीहरू