किन उड्छन् यति धेरै हेलिकप्टर

किन उड्छन् यति धेरै हेलिकप्टर

आधा पेट खाएर जनताले तिर्ने कर, भिआइपीहरूको उडानमा खर्च भरमार ! सुत्केरी हुँदा अस्पताल लैजाने सवारी साधन नपाएर आमा र बच्चाको ज्यान गएको घटना एकपछि अर्को घटिरहँदा भिभिआइपी र भिआइपीहरूलाई भने नेपाली सेनाको हेलिकप्टरमा देश दौडाहा गर्दै भ्याइनभ्याइ छ । 

सडकमार्गबाट आधा घण्टामा पुगिने ठाउँमा समेत हेलिकप्टरमै उड्ने किन ? दयनीय सडकका कारण पैदलयात्रीले कतिसम्म सास्ती खेपिरहेका छन् ? माथि उड्नेलाई थाहै हुन्न । तलबाट गएको सडकको दुर्दशाका कारण भएको दुर्घटना, जनताले दिनहुँ खानुपरेको धुँवाधुलोबारे थाहा त पाइन्थ्यो ! यस वर्षको शुरुवातदेखि हालसम्मको तथ्यांक हेर्ने हो भने एउटै भिआइपीले दर्जनौं पटकसम्म हेलिकप्टरमार्फत आउजाउ गरेका छन्् । सबैभन्दा बढी उड्ने सूचीमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत छन् । प्रधानमन्त्री ओलीले धुलिखेल जान पनि सेनाको हेलिकप्टर खपत गरेको पाइएको छ । 

क–कसले गरे खपत ?

सरकारी सम्पत्ति प्राकृतिक विपद्का बेला उद्दारमा बढी प्रयोग गरिनुपर्ने हो । हेलिकप्टर खाली भएमा मात्र भिआइपीहरूको उडानमा प्रयोग गर्न मिल्छ । तर, पछिल्लो समय उद्दारभन्दा पनि भिआइपीहरूको भ्रमणमा यिनको खपत बढी छ । सेनाकाअनुसार ६ वटा हेलिकप्टर र पाँच वटा विमान सञ्चालनमा छ । हेलिकप्टरमा एमआई १७ हेली एनए ०३८, एएलएच एनए ०५४, इक्विरल हेली एनए ०५५, अगुष्टा एनए ०५८, अगुष्टा एनए ०६७ र बेल हेली एनए ०६६ रहेको छ । कासा जहाज एनए ०६२, स्काई ट्रक एनए ०४१, एनए ०६३, एनए ०६४ र पिपर एनए ०५९ विमान सेनासँग छ । भिआइपीहरू देश दौडाहामा निस्किँदा प्रायः एमआई १७  प्रयोग गर्ने गरेको सेनाले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोसहित डेढ दर्जनको टोली गत असार २ गते सिरहा गएको थियो । कारण थियो, मिर्चैया नगरपालिका–७ स्थित लक्ष्मी सामुदायिक वनको थप सात हेक्टर खाली जमिनमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्ने । उनीहरूले त्यतिबेला एमआई १७ एन ०३८ कलसाइनको हेलिकप्टर प्रयोग गरेका थिए ।

असोज ४ गते टोली सोही कलसाइनको हेलिकप्टरमा जोमसोम लाग्यो । पाइलट महासेनानी रचन श्रेष्ठ, चालक दलका चार सदस्य र डिजिएमटी उपरथी ध्रुवप्रकाश शाहलगायत आठ जना त्यसमा सवार थिए । त्यसको ६ दिनपछि एमआई १७ एनए ०६७ हेलिकप्टरबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितको टोली भरतपुर गयो । त्यताबाट फर्किएर सोही हेलिकप्टरमा राष्ट्रपति पोडैल, शहरी विकासमन्त्री सिंह, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्का, बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, नारायणप्रसाद दुवाडी, सहायक रथी मनोज बैदवार, महासेनानी अच्युतम भण्डारीसहित ११ सदस्यीय टोली नवलपरासीतर्फ लाग्यो । असोज १३ गते मुख्यसचिव एकनारायण अर्यालसहित तीन सदस्यीय टोली एनए ०५५ ईसियु कलसाइनको हेलिकप्टरमा पोखराबाट काठमाडौं आयो । त्यसैदिन ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी अवलोकनका लागि गोटीखेल पुगे । ललितपुरकै गाउँसम्म जानका लागि उनले हेलिकप्टर चार्टर गरेका हुन् ।

ऊर्जा, सिञ्चाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ्ग असोज १९ गते सिन्धुलीको खुर्कोटबाट काठमाडौं फर्किए । उनले एमआई १७ एनए ०३८ कलसाइनको हेलिकप्टर प्रयोग गरेको देखिन्छ । गृहमन्त्री रमेश लेखकसहितको टोली असोज २२ गते खुर्कोटसम्म लाग्यो । मंगलटार गएको टोलीमा रक्षामन्त्री राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रधानसेनापति अशोकराज सिंग्देलसहित ११ जना थिए । उनीहरू सोही हेलिकप्टरमा ललितपुरको गोटीखेलतिर लागे । कात्तिक १ गते सेनापति सिग्देल कलसाइन एनए ०६४ वाला स्काई ट्रकमा सुर्खेतबाट आएको देखिन्छ । उनी असोज ३० गते त्यता लागेका थिए । प्रधानसेनापतिको टोली फर्किएलगत्तै राष्ट्रपति पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मार्तडी खप्तड नाट्येश्वरी पुगेका थिए । एनए ०३८ कलसाइनको हेलिकप्टर कात्तिक १४ गते गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोली बोकेर पोखराबाट काठमाडौं आएको थियो ।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित १९ सदस्यीय टोली कात्तिक २८ गते काठमाडौंबाट बारा गयो । त्यही दिन प्रधानमन्त्री ओली जुम्ला पुगे । मंसिर ११ गते एउटा जम्बो टोली पाँच जिल्लाको भ्रमणमा निस्किएको देखिन्छ । जसमा रक्षामन्त्री राई, यातायातमन्त्री दाहाल, प्रधानसेनापति सिग्देललगायत आठ जना बाग्लुङ, डोल्पा, जुम्ला, हुम्ला हुँदै मुगुसम्म पुगेका थिए । मंसिर १७ गते एनए ०५८ कलसाइनको हेलिकप्टर उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई लिएर बाराको गढीमाई पुग्यो । मंसिर १८ गते एनए ०६६ बेल हेली काठमाडौंबाट भिआइपीसहित इलाम उड्यो । सभामुख देवराज घिमिरे, रक्षामन्त्री राई, एमाले सांसद योगेश भट्टराईसहितको ६ सदस्यीय टोली मंसिर २० गते ताप्लेजुङ पुगेको थियो । त्यतिबेला एनए ०५८ कलसाइनको हेलिकप्टर प्रयोग भएको थियो । मंसिर २२ गते कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, ऊर्जामन्त्री खड्का, पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत, कांग्रेस नेता डा.सशांक कोइराला, महामन्त्री गगन थापा, राज्यव्यवस्था समितिका सभापति खतिवडाको विराटनगरबाट हेलिकप्टरमा काठमाडौं आगमन भयो ।

मंसिर २६ गते प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टर चढेर तेह्रथुम गए । मंसिर २९ गते धुलिखेल जाँदा पनि हेलिकप्टर चार्टर गरियो । काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहका प्रमुख अतिथि उनी हेलिकप्टरमै फर्किए । पुस ६ गते प्रधानसेनापति सिग्देल हेलिकप्टरमै पाँचथरको फिदिम, झापा, उदयपुरको चन्द्रगढी र ओखलढुंगा पुगे ।

पुस १४ गते प्रधानमन्त्री ओली हेलिकप्टर चढेर ९ सदस्यीय टोलीसहित पर्सा गए । माघ ४ गते राष्ट्रपति पौडेलले तराई–मधेस द्रूतमार्ग अवलोकन गरे । शहरी विकासमन्त्री सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, यातायातमन्त्री दाहाल, योजना आयोगका उपाध्यक्ष शिव अधिकारीसहित ६ सदस्यीय टोली एनए ०६७ हेलिमार्फत माघ ११ गते पाल्पा प्रस्थान गरेको थियो । माघ १४ गते प्रचण्ड र वर्षमान पुनसहित चार सदस्यीय टोली तेह्रथुम गयो । सोही दिन एनए ०६६ कलसाइनको हेलिमार्फत रक्षामन्त्री राई, यातायातमन्त्री दाहाल, ऊर्जामन्त्री खड्कासहित पाँच सदस्यीय टोली रामेछाप र संखुवासभाको तुम्लिङटार गयो ।

माघ १६ गते राष्ट्रपति पौडेलसहित १० सदस्यीय टोली माल्यार्पण कार्यक्रमका निम्ति तनहुँ पुग्यो । त्यसपछि सोही हेलिकप्टरमा लमजुङ पनि गइएको थियो । फागुन ३ गते प्रचण्डसहित चार जना सेनाको हेलिकप्टरमा मकवानपुर उडे । फागुन ५ गते प्रधानमन्त्री ओली एनए ०६७ आरएएम कलसाइन भएको हेलिकप्टरमार्फत दाङ गए । फागुन ८ गते पोखरा जाँदा पनि हेलिकप्टर प्रयोग गरे । त्यसको भोलिपल्ट राष्ट्रपति पौडेल एनए ०६७ को हेलिमा धर्मशाला समुद्घाटन गर्न धरान पुगेका थिए । सोही साँझ भैरवनाथ गणको अवलोकन गरे । फागुन १५ गते रक्षामन्त्री राई हेलिकप्टरमा नवलपरासीतर्फ लागे । सभामुख घिमिरेसहितको टोली फागुन १६ गते रामेछाप गयो । १७ गते राष्ट्रपति पौडेलसहित १० सदस्यीय टोली पोखरा प्रस्थान गरेको देखिन्छ । फागुन २२ गते प्रधानमन्त्री ओली महोत्तरी र फागुन २५ गते कञ्चनपुर गए । त्यसैगरी, रक्षामन्त्री राई फागुन २९ गते गृहजिल्ला सोलुखुम्बु पुगे ।

सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी हेलिकप्टर चार्टरको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नुपर्ने बताउँछन् । प्रक्रियाअनुसार निवेदन दिएर हेलिकप्टर बुक गर्न सकिने र फ्लाइट आवरको हिसाबमा शुल्क तिर्नुपर्ने जानकारी दिए । जनआस्थासँग भने, ‘हामीले विपद्का लागि हेलिकप्टर स्ट्याण्ड बाईमा राखेका हुन्छौं । हेलिकप्टर खाली छ भने दिने हो । त्यसको शुल्कचाँहि समयको हिसाबमा सम्बन्धित कार्यालयले दिनुपर्छ । हेलिकप्टर कसलाई दिनेभन्दा पनि प्रक्रिया पुर्‍याएर निवेदन आए–नआएको कुरा बढी महत्वपूर्ण हुन्छ ।’

हेलिकप्टरका लागि सम्बन्धित कार्यालयले भुक्तानी गरेपनि आखिर जाने राज्यको ढुकुटीबाटै हो । स्रोत भन्छ, ‘राजाको पालामा पनि यति धेरै हेलिकप्टर उडान हुँदैनथ्यो । एउटै जिल्लाभित्र जान त हेलिकप्टर चार्टर गर्छन् अनि जनता आक्रान्त भइहाल्छन् नि !’
 

टिप्पणीहरू