पाण्डेको पुस्तक विमोचनमा कार्कीले सम्झिइन् उपरखुट्टी लगाउने दिदीहरु

पाण्डेको पुस्तक विमोचनमा कार्कीले सम्झिइन् उपरखुट्टी लगाउने दिदीहरु

‘विराटनगर (घर) बाट धरान गएको थिएँ, त्यतिबेला पहिलोपल्ट कुनै महिलाले उपरखुट्टी लगाएको देखेँ,दिदीहरु चिया खानकै लागि पैसा छुट्टयाएर रेष्टुरेण्ट जान्थे,त्यो देखेपछि अनौठो लाग्यो’, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो जीवनको भोगाई  यसरी सुनाइन् । 

सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनको हलमा हिजो शनिबार शंकरप्रसाद पाण्डेद्वारा लिखित ‘सम्झनाका फूलहरु’ पुस्तक विमोचन गर्दै उनले अघि भनिन्, ‘यो पुस्तकमा पनि मेरो जीवनसँग मिल्ने धेरै सम्झना रहेछन् ।’

यो पुस्तक भावी पुस्ताको लागि ऐतिहासिक दस्तावेज हुने कार्कीको विश्वास छ । ‘पुस्तकभित्र पर्यावरणीय, गुरुहरुको सम्झना,तिब्बतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति स्थापित गर्ने प्रयास,सानी आमा,भूकम्प, गुणस्तरीय शिक्षा र संस्कृतिलगायतले ठाउँ पाएका छन्’, उनले थपिन्, ‘मलाई लाग्छ यो पुस्तक भावी पुस्ताले गर्ने रिसर्चको लागि महत्वपूर्ण दस्तावेज हुनेछ ।’

नेपाली शिक्षा परिषदकी अध्यक्ष रमा शर्माले पनि पुस्तकमा पाण्डेले आफ्नो अनुभव र दृष्टिकोणलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताइन् । पाण्डेको निजी जीवन र पेशागत जीवनको अनुभवबाट नेपाली समाजले धेरै कुरा सिक्न सक्ने उनको विश्वास छ । 

काठमाडौँ महानगरपालिका-१६ नम्बरकी वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तक पढेर भावुक बनेको बताइन् । ‘पहिले स्कूलमा फी तिर्ने पैसा हुँदैनथ्यो, त्यतिबेला घरबाट तरकारी लगेर दिन्थ्यौँ’,पुस्तकमाथि टिप्पणी गर्दै उनले भनिन्, ‘यो पुस्तकमा पनि लेखकले यस्तै पुरानो किस्साहरु लेख्नुभएको छ, पढ्दाखेरी मेरो जीवनसँग ठ्याक्कै मिल्ने ।’

पूर्व सचिव समेत रहेका पाण्डेले पहिलो कृति ‘सम्झनाका फूलहरु’ बजारमा ल्याएका हुन् । पूर्व प्रधानन्यायाधीश कार्की,परिषद्की अध्यक्ष शर्मा, वडाध्यक्ष श्रेष्ठ र लेखक पाण्डेले संयुक्त रुपमा किताव  विमोचन गरेका थिए । 

सो क्रममा लेखकले पुस्तकभित्र ०४० सालदेखिको अनुभवलाई समेटेको बताए । कार्यक्रमस्थलमा जनआस्थाकर्मीसँग गफिंदै भने, ‘पुस्तकमा झण्डै चार दशकको अनुभव छ । मेरो बाल्यकाल,राष्ट्रकवि, महाकविबारे लेखेको छु,शिक्षक हुँदाको भोगाई र प्रशासक हुँदै रिटायर्ड हुँदासम्मको सबै कुरा छ ।’

आफ्नो अनुभवलाई पुस्तकको रुपमा निकाल्ने सोच कसरी आयो त ? भन्ने प्रश्नमा उनले ‘संगतको असर’ हो भने । खुलाउँदै थपे, ‘म अहिले नेपाली शिक्षा परिषद्को कोषाध्यक्ष हुँ, परिषद्मा सबै साहित्यकार हुनुहुन्छ । उहाँहरुको संगतले मलाई पनि संस्मरण निकाल्ने प्रेरणा मिल्यो ।’

विद्यालयमा शुल्क तिर्न नसक्ने विद्यार्थीहरुले तरकारी, माछा, दाम्लोलगायतका सामान ल्याइदिने गरेको पाण्डेले सम्झिए । ‘म त एसएसली पास हुनेबित्तिकै प्राइमरी टिचर भइहालेँ,त्यतिबेला कमजोर आर्थिक अवस्था भएका विद्यार्थीले कालीगण्डकीमा मारेको माछा ल्याइदिन्थे,कसैले दूध,घ्यु ल्याइलिन्थे, ती सम्झनाहरुलाई पुस्तकमा राखेको छु’, शिक्षण पेशाका दौरान पाएको एउटा अनुभव उनले सुनाए ।

टिप्पणीहरू