जागृत राजावादी

जागृत राजावादी

पूर्वराजा ज्ञानेन्द्र शाहको अर्को भिडियो सार्वजनिक भएको छ । अहिले उहाँलाई फुर्सदै फुर्सद छ । कतै उहाँ पनि युट्युब र टिकटक बनाएर पैसा कमाउने लाइनतिर त लाग्नुभएन ? नभए यस्तो लगातार भाइरल हुने खालको भिडियो त नआउनुपर्ने हो । अस्ति आयो, हिजो फेरि आयो । 

नयाँ आएको युट्युबमा चाहिँ उहाँले अस्ति तीनकुनेमा भएको आगजनीलाई तारिफ गर्नुभएको रहेछ । त्यो दिन उहाँका कार्यकर्ताले सर्वसाधारण जनताको घर जलाउने, त्यही घरमा राखेर जिउँदै मान्छे पोल्ने, तोडफोड गर्ने र लुटपाटसमेत गर्ने काम जो गरे, त्यसलाई उहाँले ‘जनतामा आएको जागरण’ भन्नुभएको रहेछ । शायद हो पनि । राजावादी जागृत भए भने के गर्छन् भन्ने देखियो । समाजवादीहरू जागृत भए भने समाजको सेवा गर्न पुग्छन्, माओवादी जागृत भयो भने पैदल यात्रा गर्छ । राजावादी जागृत भए चाहिँ जनताको घरमा आगो लगाउने रहेछन् । राजावादीको जागरण नै अनौठो । 

पूर्वराजाले जनतामा आएको यो जागरणलाई तारिफ पनि गर्नुभएको छ । अब सोच्नोस्, राजावादीको जागृत अवस्था त यस्तो हुन्छ भने बिग्रिएको अवस्था झन् कस्तो हुन्छ होला ?

टिप्पणीहरू