पोखरामा पठनपाठन सुचारु गर्न निर्देशन, शिक्षकहरुको अडान कायम
देशभरका शिक्षक राजधानी केन्द्रीत आन्दोलनमा होमिरहँदा पोखरा महानगरपालिकाले पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । आगामी वैशाख ११ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्न महानगरले सम्पूर्ण सामुदायिक विद्यालयलाई पत्राचार गरेको हो ।
‘पोखरा महानगरपालिकाको नयाँ शैक्षिक सत्र २०८२ को पठनपाठन कार्य २०८२–०१–०८ गतेबाट सञ्चालन गर्ने भनि शैक्षिक क्यालेण्डरमा उल्लेख भएकोमा विद्यालयहरुको भर्नालगायत अन्य पूर्वाधारसमेतको व्यवस्थापन गर्न समय अभावको कारण मिति २०८२–०१–११ गते बिहीबारबाट नियमित पठनपाठन सुचारु गर्नु–गराउनुहुन...’,पत्रमा उल्लेख छ ।
गत चैत २० गतेदेखि शुरु भएको शिक्षकहरुको आन्दोलन आजपनि जारी छ । शिक्षकहरु आन्दोलनमा आएपछि देशभरको सामुदायिक विद्यालय बन्द छ । वैशाख २ गतेबाट शुरु हुनुपर्ने भर्ना अभियान पनि प्रभावित बनेको छ । शिक्षकहरुले शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।
टिप्पणीहरू