आन्दोलित शिक्षकहरु थप उग्र, १२ को परीक्षामा सहभागी नहुन महासंघको निर्देशन
नेपाल शिक्षक महासंघले पर्सिदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुन देशभरका प्राधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले निजामति कर्मचारी खटाएर भएपनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कडा निर्देशन दिएका हुन् ।
आन्दोलनको २१ औं दिनको कार्यक्रलाई सम्बोधन गर्दै उनले भने, ‘बोर्डले निजामति कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भनेको रहेछ, त्यो उसको कुरा हो । तर म सम्पूर्ण प्राधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई त्यो प्रक्रियामा सहभागी नहुन अनुरोध गर्दै निर्देशन पनि दिन चाहन्छु ।’ अध्यक्ष सुवेदीले आफूहरुको माग सम्बोधन नभए उत्तरपुस्तिका चेकजाँच नगर्ने अडान पनि दोहोर्याए । ‘परीक्षा पनि उनीहरु चलाउन्, उत्तरपुस्तिका पनि उनीहरु नै चेक गरुन्’, उग्र हुँदै भने ।
उता आन्दोलनरत शिक्षकहरुलाई घर फर्काउन ७ बुँदे प्रस्ताव तयार पारेको भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले हिजो एकाएक राजीनामा दिएपछि आन्दोलन थप गिजोलिएको छ । यद्यपि, मन्त्रीको राजीनामा स्वीकृत भइसकेको छैन । सरकारले शिक्षकहरुको मागप्रति सकारात्मक रहेको बताए पनि शिक्षा ऐन आगामी बजेट अधिवेशनमा समेत टेबल हुन नसक्ने जानकारहरु बताउँछन् ।
टिप्पणीहरू