देउवा भेटेर ढुक्क भएपछि बल्ल गगनलाई जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाको शब्द सुनेर दया लागेको टिप्पणी गर्नुभएको छ ।  

गभर्नर नियुक्तिको सन्दर्भमा केही दिनअघि गगनले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलायाहरुको पहुँच हुने गरेको दाबी गर्नुभएको थियो । सरकारले बिचौलियालाई संरक्षण गरेकै कारण अर्थतन्त्रमा समस्या आएको जिकिर पनि थियो । 

यसबारे एक सातासम्म प्रतिक्रियाविहीन रहेका प्रम ओलीले आज थापाको नाम उच्चारण नगरीकन कडा जावाफ फर्काउनुभयो । ‘प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच पुग्या छ रे....दया लाग्छ तिनको त्यस्ता शब्द सुन्दा’, उनले भने, ‘के बोलेको त्यो ? त्यस्ता कुराहरु प्रमाणित गर्न सक्छन् तिनले ?’

ओलीले कांग्रेस महामन्त्री थापालाई ‘नाबाकाद’ को संज्ञा पनि दिनुभएको छ । उदाहरण दिँदै विस्तृतमा भन्नुभयो, ‘पहिला एकपल्ट विष्णुबहादुर मानन्धरहरुको एउटा समूह थियो, उसले केशरजंग रायमाझीहरुलाई नाबाकाद भन्थ्यो । त्यो भन्या चाहीँ नामको बामपन्थी, कामको दक्षिणपन्थी, छोटकरीमा नाबाकाद । त्यस्ता नाबाकादहरु अहिले चाहीँ दुई प्रकारका छन् । पहिलो कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पर्ने उद्धेश्य सफल पार्न आफ्नै गठबन्धनविरुद्ध जथाभावी आरोप र लाञ्छना लगाउने ।  अर्को ढल्यो ढल्यो, सरकार ढल्यो, अहिले ढल्यो, भरे ढल्यो, भोलि बिहानै ढल्यो, शेरबहादुरजी फर्किनबित्तिकै ढल्यो भन्नेहरु ।’

प्रधानमन्त्री ओलीले सरकार ढल्न लाग्यो भन्नेहरुलाई देउवाको पछिल्लो अभिव्यक्तिले चिसो पानी खन्याइदिएको टिप्पणी पनि गर्नुभयो । भन्नुहुन्छ, ‘पहिलो नाबाकादहरुलाई शेरबहादुरलेजीले थाइल्याण्ढबाट फर्किएर चिसो पानी टाउकोबाट खनाइदिएपछि बल्ल...दोश्रो नाबाकादहरु चाहिँ फेरि शेरबहादुरजी आएको दुई चार दिनपछि पो ढल्छ कि भनेर अर्को गीत सुरु गरिसक्या छन् ।’  

प्रधानमन्त्री ओलीको आजको अभिव्यक्तिलाई देउवा भेटेपछि बढेको आत्मविश्वासका रुपमा अर्थ्याईएको छ । देउवासँग हिजो झण्डै दुई घण्टा वार्ता गरेपछि सरकार नढल्नेमा उहाँ ढुक्क भएको र आज गगनलाई जवाफ दिएको अनुमान गरिएको छ ।

टिप्पणीहरू