गगनले फेरि भने: डाँडामा बसेर लाखौँ कमाउन सम्भव छ
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव तुल्याउन सकिने बताएका छन् ।
विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा दोहोर्याएका हुन् । यसअघि स्थानीय तहको उपनिर्वाचनका बेला कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै थापाले कीर्तिपुरको डाँडामा ल्यापटप चलाएर महिनाको लाखौँ कमाउन सकिने बताएका थिए ।
उनको उक्त भाषण सामाजिक सञ्जालमा ट्रोलसमेत बनेको थियो । सो प्रसंग आज सम्झंदै महामन्त्री थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना भए पनि त्यसलाई सम्भव बनाउन सकिने जिकिर गरे ।
‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसङ्ग याद आउँछ । त्यो प्रसङ्ग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने मेरो इमाजिनेशनको कुरा मैले गरे, कतिलाई रमाइलो कुरा पनि भयो । तर, त्यो इमाजिनेशन हो, त्यो ड्रिम हो, सम्भव छ’, उनले भने ।
विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै थापाले चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गरे । ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुल्ने उनको भनाई छ ।
ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै उनले विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित गर्न नहुनेमा जोड दिए ।
टिप्पणीहरू