प्रधानमन्त्री कार्की सत्ता हस्तान्तरण गर्न आतुर
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सुशासन र निर्वाचन सरकारको मुख्य एजेण्डा भएको पनि बताइन् ।
फागुन २१ गते निर्धारित चुनाव सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको प्रधानमन्त्रीको भनाइ छ । निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले सबैलाई आग्रह गरिन् ।
‘गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ’, प्रधानमन्त्रीको भनाइ छ, ‘आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’
मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन चुनावको विकल्प नभएकोमा उनले जोड दिएकी छन् । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको जिकिर गर्दै प्रमले खराब तत्वको प्रतिरोध गर्न समुदायको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताइन् ।
टिप्पणीहरू