सत्तातन्त्रको लागि ईभेण्ट व्यवस्थापन परियोजना

“मुर्खताबाट उत्पन्न आत्मविश्वास सवभन्दा ठूलो हुन्छ”(हरिशङ्कर परसाई,भारत) । हाम्रो पालामा पाठ्यक्रममा नभएकाले एस ब्राउन र जे जेम्सले इभेण्ट मैनेजमेण्ट सम्बन्धमा लेख्नु भएका कितावहरु मैले पढेको छुइन । घरमा पितृ श्राद्ध बाहेक अरु तामझामका कुनै कार्यक्रमहरु आयोजना गरेको छुइन,केटाकेटीहरु पढ्दै छन् । त्यसैले थरिथरिका डिजाइन गरेर इभेण्ट अर्थात आयोजना–कार्यक्रम व्यवस्थापन गर्न पनि जानेको छुइन । तर,डोनाल्ड गेट्ज,डी टास्सियोपौलस लगायतले इभेण्टबारे अर्थ्याउनु हुदा उदेश्य,कारोवार,लगानी–खर्च–प्रतिफल,जन उपस्थिति,आर्जन गर्ने अनुभव,लाग्ने समय,अरु चलखेल,विभिन्न वातावरणीय पक्ष,सुरक्षा,विविधता,आयोजकको प्रभाव समेतका पक्षहरुको चर्चा गर्नुभएकाले व्यवस्थापकीय दृष्टिकोणले उधमी,सामाजिक,खेलकुद,कला साहित्य,मनोरञ्जन,परिवारिक आदि इभेण्ट होलान तर राजनीतिमा पनि इभेण्ट व्यवस्थापन हुन्छ र भन्ने जिज्ञाशा उठ्न सक्छ ।
राजनीतिक दलहरुले खर्च गरेर,हिड लजिङ्ग फूडिङ्ग मुफ्त भन्दै ओशार पसार गरेका भिडतन्त्रको आयोजना पनि एक प्रकारको इभेण्ट त हो नी भन्ने मैले सहज रुपमा लिएर आफ्नै प्रकारको अति सहज सोच बनाएको छु ,राजनीतिक दलका कार्यक्रमहरुको दृष्य अदृष्य पक्षहरुमा गहिरिएर विश्लेषण गर्ने हो भने अब प्रष्टरुपमा इभेण्ट व्यवस्थापन हो भन्न सकिने अवस्था छ,यस मामिलामा म गलत पनि हुन सक्छु । मदनभण्डारी कलेजका व्यवस्थापन प्राज्ञ डा.प्रमोद भण्डारी उपाध्याय अहिलेका राजनीतिक दलका विरोध कार्यक्रमलाई ‘ईभेण्ट म्यानेजमेण्टको प्रत्यक्ष हैन परोक्ष प्रकृति’ मान्नु हुन्छ
इभेण्ट आयोजनामा देखिएका विकृतिको आआफ्नै पक्ष होलान्। तर राजनीतिमा देखिएका अराजनीतिक इभेण्टले देशलाई चैनले राख्न सक्ने विश्वास गर्न सकिने स्थिति छैन । २५ फागुनको राजाको विमानस्थल स्वागत कार्यक्रमको आयोजनाको बायप्रोडक्टको रुपमा १५ चैत वि.सं.२०८१ का तीनकुनेमा गणतन्त्रको विरोधमा राजतन्त्रपक्षधरहरुको एवं भृकृटिमण्डपमा सरकारको कुशासनको विरोध तथा गणतन्त्रकोपक्षमा समाजवादी पक्षधरका अलग अलग ठूला इभेण्टको आयोजना भए । यी आयोजना गर्दा भृकृटी मण्डप पक्षधरहरु संवैधानिक तवरले विरोध गरेकाले आफुलाई इभेण्टको स्वोट एललाईसिस गरेकोमा दक्ष ठानेर केही अप्रिय घटना नहुनेमा ढुक्क थिए भने संविधान नै नमान्ने तीनकुनेका इभेण्ट मैनेजरहरुको नेतृत्व रणभूल्लमा परेको पाईयो । दुर्गा प्रसाई तथा ज्ञानेन्द्र शाही एवं राजेन्द्र लिङ्गदेनको वारेमा म केही भन्दिन तर तीनकुनेमा राजनीति,अनुसन्धान,प्रशासन, व्यवस्थापन बुझेका पूर्व मन्त्रीहरु नवराज सुवदी,डा.प्रकाशचन्द्र लोहनी,पशुपति शमसेर जवरा,रमासिंह लगायतकाको उपस्थिति थियो । पञ्चायती व्यवस्थामा जनमत संग्रह पछि इतर पक्षधरहरुले आफ्नो विरोध जुलुसमा सरकारी घुसपैठ नहोस भनेर शुरु देखिनै मान्छेको पंक्तिबद्ध जुलुस निकाल्ने गर्दै थिए ।
अनेरास्ववीयु एकताको पाँचौका केन्द्रीय पदाधिकारी भिम रावल विराटनगर आएको बखत महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस देखि बजार अड्डा चौक सम्मको विधार्थीको अनुशासित जुलुस शहीद मैदानमा गएर भीम रावलले करिव २ घण्टा बोल्नु भएको,नेता तारानाथ रानाभाट आउँदा नेविसंघले र अध्यक्ष लिलामणी पोखरेल आउँदा अ.ने.रा.स्व.वी.यु.छैठौँले आयोजना गरेको कार्यक्रम(इभेण्ट) मा दुवैले श्रोतालाई जुरुक्क उचाल्ने मन्तव्य व्यक्त गरेपनि सहज रुपमा सम्पन्न भएको भन्ने चर्चा चलेको थियो । तीनकुने प्रतिरोधको आयोजकहरु आफुले पञ्चायतमा भोगेका विरोधको अनुभवी पक्कै हुनुहुन्थ्यो ।
सात साल,१७ साल,४५ साल, ५२ साल,६२ साल हुन वा दक्षिणका छिमेकिका पूर्व विदेशमन्त्री सुषमा स्वराजका संसद सम्बोधनका कुराहरु हुन वा श्याम शरण मुखर्जी,रञ्जित रे का वातहरु हुन वा प्रयोशालाका प्रायाजित पंक्तिहरु हुन सवैको भाष्य नेपाली जनताले हैन अरुले पो नेपालमा परिवर्तन ल्याउने रहेछन् भन्ने रहेकाले अव जनतामा अव हाम्रा नेताहरुबाट हैन पो रहेछ भन्ने विश्वास जागृत भएर नेपाली नेताहरुको हामीले ल्याएको परिवर्तन भन्ने गफलाई हावामा उडाउँदै अहिले गणतन्त्रको विकल्पको लागि दक्षिणको नै भरपर्नु पर्ने रहेछ नेर मुख ताकेर बसेका छन् ।
परिवर्तन आवरण एकथरी राखेका सभ्रान्त–जिम्दारी–रजगजी–चिल्ला सुकिला यूएसयड,यूएनडीपी,आईएमएफ,विश्व बैङ्कको सहयोग आवद्धतमा रमाएकाहरु लगायत आगामी दिनमा आफुले पनि केही पाउने आशामा रहेका अरु थपिदै गएका गणतन्त्रबादीहरुले वास्तवीक सही गणतन्त्रबादीहरुलाई पाखा लाएर आफ्नो साम्राज्यलाई ध्वस्त पार्न नेपाली राजनीतिक इतिहासको थपिएको पानामा शान्तिपूर्वक आफैँले छोडेका राजतन्त्रका पक्षधर आन्दोलनका राजावादीहरुका विभिन्न समूहले स्वार्थ,डाह,ईर्ष्या,आखाँ गाडेको कहाँ हेर्न सक्थे र भन्ने साधारण मानिसले पनि आँकलन गर्नसक्ने अनुमानप्रति वेवास्ता गर्नु,अनि आफैँ भित्र पनि हेर्दा हेर्दै चप्पल लाउन नसक्ने तर रातारात चिल्ला सुकिला भएर चम्केका धुरन्धरहरु,एकजुट हुन नसकेर राजालाई प्रभाव पार्न–देखाउन अनेक तामझाम गर्दै जस लिन गुट–उपगुटमा प्रस्फुटित पात्रहरुको भित्री मनोभाव र स्वार्थलाई विश्लेषण गर्न नसकेकाहरुले तीनकुने इभेण्टमा देखिएको भीडतन्त्रमा मख्ख परेर संसारै जिते जस्तो गर्दा जे दुखद घटना घटन गयो,त्यसप्रति सरकार त दोषमुक्त हुनै सक्दैन र आयोजकले सरकारलाई मात्र दोष दिएर जिम्मेवारीबाट पन्छिन नसकिने व्यहोरा पनि बुझ्न जरुरी छ भन्ने बहश शुरु भएको छ ।
“भीडले के स्वीकार गर्छन र के अस्वीकार गर्छन मैले नजानेको हुनाले कहिलेपनि भीडलाई खुशी सन्तुष्टि पार्ने इच्छा मैले गरिन । आफ्नाहरुलाई समेट्नु पर्ने बेलामा तपाईँ त्यसबखत भीडमा रहन बाध्य हुनुहुन्छ”(इपीकुरस,ग्रीक दार्शनिक) भन्ने कुरा भीड जम्मागरेर रमाउने तर धुम्रिँदो परिस्थितिको वास्तै नगर्ने अनि धुमेलोमा रमाउने प्रवृति भएका पो हुन कि जस्तो लाग्ने ईभेण्टको आयोजकले अन्यथा नलिएर भावनात्मक रुपमा मनन् गर्नु उपयुक्त हुन्छ ।
एमालेले ११ बैशाख वि.सं.२०८२ मा आयोजना गर्ने युवा प्रर्दशनको भीड इभेण्ट नगरे हुन्थ्यो भन्ने यो शुभेच्छा त्यति कै शुभचिन्तनीय छ जसरी विश्वको दुर्लभ तत्कालीन करिव दुई तिहाईका बाम प्रम केपी शर्मा आलीज्यूले संसद विघटन गर्दा यो कदम संविधानको स्थिर सरकारको लागि भएको प्रावधानको विपरित भएकाले सर्वोच्च अदालत अलमलिदैन भनेर सामाजिक सञ्जालका भित्तामा यो पंक्तिकारले त्यसवेला फैशला अघि नै सचेत गराएको थियो । विचार सार्थक हुनुपर्छ । लहड र रहर अलग कुरा हुन । “तपाईको विचारले तपाईँलाई जहाँ लैजान्छ तपाईँ त्यही हुनुहुन्छ,र जहाँ तपाईँको विचारले लैजान्छ भोलि तपाईँ त्यही नै पुग्नुहुन्छ”(जेम्स एलेन,दार्शनिक तथा लेखक,वेलायत) ।
एमालेको पदाधिकारीले नेतृत्व लिएको स्थानीय तहको महिला अदालत(न्यायीक समिति) मा पेश गरेका कानून सम्मतका प्रमाणहरु हेर्दै नहेरी हुनेखाने झगडीयाको पक्षमा पहिले नै निर्धारित सेटिङ्ग गरिएको व्यवस्था अनुरुप गरिव,निमुखालाई वास्ता नगरी सोझै फैशला गर्ने र ती निमुखाले मेरो पेश गरिएको प्रमाण वेगर म माथी अन्याय गरियो भनेर हार गुहार गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ छैन अर्को शब्दमा भन्ने हो भने न्यायपालिका हैन कार्यपालिका हावि भएको न्यायीक समिति खारेज हुन योग्य उन्मुख त भएका छैनन् ? न्यायीक समितिमा हुने समुहले प्रमाण हेर्ने कि सेटिङ्ग हेर्ने ? समितिमा बदनियत गर्नेलाई कारवाही गर्ने गरिएको छ छैन ? एमाले पार्टीको खोल ओढेका स्वार्थी समूहले तल्लो वर्गलाई माथी उठाएका छन् की दवाएका छन् ? चीनको पार्टीले जस्तो तलको समितिलाई परिचालन गरेर उनीहरुको उत्पादनलाई उचित दाम दिलाएर,उनीहरुको दुख सुखको आँकलनमा सहभागी भएर पार्टीलाई जनप्रिय वनाउन सदस्यहरु लागेका छन कि दोहनमामात्र ध्याउन्न छन ? आफ्नै दलका सदस्यले घरबार विहिन भएर उठीवास हुनुपर्ने अवस्था भएको वेला यही हो मौका भनेर अर्कोपात्र खडागरेर आफैँले घरवार हत्याउन पो लागेका त छैनन् ? दललाई धुतिमान वनाउने वास्तविक सदस्य समर्थक अति छन् ? काठमाडौं महानगरपालिकाको सन्दर्भमा पीएहरुबाट व्यवस्थालाई जोगाउनुपर्ने भो भन्ने आशयमा जनआस्थामा एउटा समाचार प्रकाशित भएको थियो । मेरा विधालय मित्र मोतिलाल दुगड बाणीज्य सहायक मन्त्री भेटन गएको थिएँ तर सचिवालयका कर्मचारीहरु त ढोकामा कनसुतली पो लागेका थाहापाएँ । हुँदा त्यतातिर ध्यान दिनुपर्ने वेला मान्छेको भीड जम्मा गरेर कशलाई प्रदर्शन गर्नु परेको हो ? धम्कि दिएको हो कि हार गुहार गरेको हो अलमल्ल लाग्ने जस्तो गरेर किन आत्तिएको ? जस्ता अनेकौँ प्रश्नहरु पार्टीमा अलग वैचारिक धार भएका पुराना नेताहरुले छोडेर शुद्ध भएको भन्ने दावि गरिएको नेपालको सवभन्दा दरिलो र मजवुत सङ्गठनात्मक सिक्रि भएको दल मानिएको एमालेलाई जनताले मनभित्र,मनबाहिर चीया पशल,चौतारी,फाल्चाहरुमा उठाई सकेका छन् ।
हिजो आफूले दलभित्र गुट बनाउँदा होस वा सत्ताधारी दलसँग अदृष्य मोलतोल गर्दा अराजकतालाई दिएको प्रोत्साहन होस अहिले आएर त्यही विगतको अनुसाशनहिनता एवं अराजकताले उदण्ड रुप देखाउँदै छ । कार्यरत प्रमलाई नराम्रा अराजक शव्द प्रयोग गरेर सोसल मेडीया प्रशारित हुनुले सरकार डराएको ठानेर बहशमा ओलि सरकार ढल्ने पक्षमा भनेर मेडीयामा आउँछ । सरकार आफु ढल्ने कुराको विपक्षमा हैन पक्षमा पो छ भनेर कराउने लेख्ने कस्ता ज्ञान पाएका मेडीयाले ? वरिष्ठ सञ्चारकर्मी भेषराज धमलालाई भारतीय नेताको जस्तो कलर भएको कोट लाउन मनपर्छ ,कशैलाई जवाहरलाल नेहरुको जवाहरी–ज्वारीकोट पहिरने सोख चल्छ । गणतन्त्र हल्ल्यिो भनेर सोसल मेडीया भरिएको पाइन्छ।
'व्यर्थको प्रयत्न’(पूर्व मन्त्री तथा एमाले नेता प्रदिप ज्ञवाली,१ बैशाखको सचिवालय वैठकमा व्यक्त मनत्व्यको शव्द) भनेर चेतावनी चेतावनी दिनुभन्दा जनतामा व्याप्त निराशाको लागि दलहरु कहाँ चुके भनेर आत्मालोचना गर्नु मनासिव हुन्छ । कुनैपनि तन्त्र आफैँ हल्लिने हुन्न । सञ्चालक पात्रहरुले नै हल्लाउछन आ–आफ्ना तन्त्रहरुलाई–वादहरुलाई । स्वतन्त्रता र समानता अव नेपालको गणतान्त्रिक लोकतन्त्रले हेर्न छोडेको छ ,सभ्रान्त र समाजमा अपराधी भनेर औला ठड्याइएकाहरुले लोकतन्त्रलाई हडपीन शुरु गरेका छन् ।
गहुँ छरेर कोदो फल्छ र ? सत्तामा भएपनि नभएपनि आफ्ना प्रियजन भनेको नेपालीको लागि नेपाली नै हुन,उनीहरुको बीचमा हुनु नै पर्याप्त हुन्छ । अरु बाहिरकाले कतिदिन बोक्लान र स्वार्थ पुरा भएपछि के हविगत पार्नेहुन भन्ने कुराको हेक्का हुनुपर्छ । अति महत्वकांक्षाले चरित्र,नैतिकता,सिद्धान्त,आस्था सबै बन्धक राखेर विविधस्वरुपका मालिकको दलाली गर्छ । देखिने सत्य भन्दा नदेखिने सत्य डरलाग्दो हुन्छ । “सामान्यतय जुन कुरालाई सत्य मानिन्छ प्रायः यसको उल्टो नै हुन्छ सत्य । एउटा गुलामको सिर्फ एक मालिक हुन्छ तर महत्वकांक्षी मानिसको धेरै मालिक हुने हुन्छन्”(जिन डेला ब्ररुयरा,फ्रान्सेली दार्शनिक र नैतिकतावादी व्यङ्गकार) ।
उदारवाद,विश्वव्यापीकरण,नवउदारवाद मात्र होइन लोकतन्त्रको परिभाषाले पनि कोल्टे फेरिसकेको छ । जोन डेभिसन रकफेल्लर ले–“मित्रतामाथि आधारित व्यापार भन्दा व्यापार माथि आधारित मित्रता राम्रो हुन्छ” भनेर उहिले भन्नु भएको सार्थक विचार मननयोग्य छ । राजनीतिको व्यापार भनेको जनतालाई प्रदान गरिने सेवाबाट देखिने उत्पादन र परिणाम हो । राज्य सत्ताको दोहन गरेर नाफ कमाउनको लागि कायम हुने मित्रता भन्दा जनताको लागि गरिने पवित्र राष्ट्रवादी,देशभक्तिपूर्ण सेवाको राजनीतिक व्यापारमा आधारित मित्रता टिकाउ हुन्छ ।
प्रजातन्त्रको पूर्नस्थापना भएपछि नेपाल अधिराज्यको संविधान २०४७ लागु भएर भएको पहिलो आम निर्वाचनमा मोरङ्गबाट एमालेका तर्फबाट नेपाली नेल्सन मण्डेला मोहन चन्द्र अधिकारी र नेपाली काँग्रेसका शेखर कोईरालाको आपसमा प्रतिष्पर्धा थियो । निर्वाचनको प्रचार अभियानको अन्तिम दिन विराटनगरमा मोहनचन्द्रको जनप्रर्दशन देखेर विचरा शेखरलाई नेकाले बलिको बोको बनायो भन्ने जनमत मतदानको नतिजा शेखरको पक्षमा आएपछि स्तब्ध भएको थियो । बाम जन प्रर्दशन देखेपछि नेकाले रातारात कार्यनीति तथा रणनीति बदलीयो । यो कुरा पक्कैपनि एमालेले विर्सेको छैन । हामीलाई आफैँले मलजल गरेका एमालेभित्र त्यहाँ उर्जावान हुन थालेको अहङ्कारले समेटन नसकेकाले अलग पार्टी खोल्न बाध्य भयौँ भन्नेहरुलाई एमाले झन शुद्ध भयो निस्केर जानेहरुको कारण भन्न त हुक्के बैठकेको चाप्लुसीमा सहजै होला तर,मनभित्र नजानिदो पीडा लुकेको जनताले देखेका छन ।
अभिभावक भएर सबैलाई समेटन नसक्ने र एकता भताभुङ्ग पार्ने सबै दलमा यो लागु हुन्छ । सत्ताकै लाथि अर्थात सत्तातन्त्रको लागि राप्रपाले पनि बैशाख ७ गते प्रदर्शन गर्ने अर्को अहङ्कार ईभेण्टको प्रोजेक्ट गर्दै छ भन्ने समाचार बाहिर आएको छ । हाम्रो बसमा त केही राजनीति रहेनछ भन्ने जनतामा अनौठो विश्वास जागेको बेला सशक्त छौँ भन्ने कसलाई देखाउनु छ र ? फेरि पनि भन्छु –भीडको ‘१ लाखको प्रर्दशन ईभेण्ट मैनेजमेण्ट प्रोजेक्ट’को सञ्चालन अहिले लगत्तै कसैले नगरौँ ! सडक ईभेण्टको विकल्पमा अरु कोठे ईभेण्टपनि त होलान नी ! मुर्खताबाट उत्पन्न आत्मविश्वास सबभन्दा ठूलो हुन्छ भन्ने कुरा नबिर्सौँ ।
टिप्पणीहरू