शिक्षकहरू सिंहदरबारमा, कर्मचारीको हातमा कालोपट्टी
विद्यालय शिक्षा ऐन जारी र नौ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न शिक्षकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आन्दोलन स्थगित गरेको चार दिनपछि नेपाल शिक्षक महासंघको टोलीले आज शिक्षामन्त्री रघुजी पन्तलाई भेटेर ध्यानाकर्षण गराएको छ ।
झण्डै एक महिनाको सडक आन्दोलनपछि गत बुधबार सरकार र शिक्षकहरुबीच नौ बुँदे सहमति भएको थियो । शिक्षकहरुले निजामति अस्पतालमा उपचार गर्न पाउने, अस्थायी प्रकृतिका शिक्षकहरुको बिरामी बिदा सञ्चित हुने, शिक्षकहरूको लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने, नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने लगायतको विषय समावेश भएपछि उनीहरुले आन्दोलन छाडेका हुन् ।
ती सबै सहमति कार्यान्वयन गराउन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुलीसहितको टोली आज सिंहदरबार पुगेको हो । सो क्रममा मन्त्री पन्तले सहमति कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै असार १५ भित्र शिक्षा ऐन आउने विश्वास दिलाउनुभएको बताइन्छ ।
उता विद्यालय कर्मचारीहरुको आन्दोलन रोकिएको छैन । सरकार र महासंघबीच भएको नौ बुँदे सहमतिमा आफूहरुको माग नसमेटिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । विद्यालय कर्मचारीहरुले आजदेखि जेठ ३ गतेसम्म कालो पट्टी बाँधेर प्रतिकात्मक दबाब दिने भएका छन् । त्यसपछि स्थानीय सरकार, सबै प्रदेशको समाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र जेठ ९ गतेदेखि पुनः राजधानीकेन्द्रीत सडक आन्दोलन गर्ने तयारी छ ।
टिप्पणीहरू