प्रतिगामी शक्ति कमजोर बनेको एमालेको निष्कर्ष
फाइल फाेटाे
सत्तारुढ दल नेकपा एमालेले राजावादी आन्दोलन कमजोर बनेको निचोड निकालेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले राजनीति स्थिरता राजनीति खल्बल्याउन खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको बैठकको निष्कर्ष निकालेको हो ।
तीनकुनेको हिंसात्मक प्रदर्शनपछि रक्षात्मक बनेको राजावादी आन्दोलनलाई लक्षित गर्दै सरकारको नेतृत्वकर्ता दलको उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको छ । स्थिरता खल्बल्याउन खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको बैठकको निष्कर्ष रह्यो ।’
एमालेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ । बैठकका निर्णय सुनाउँदै ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको दाबी गरे । बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मकरुपमा ग्रहण गरेको उनले जानकारी दिए ।
बैठकमा बोल्ने नेताहरुले नीति कार्यक्रमजस्तै ठोस र परिणाममुखी बजेट ल्याउन सुझाव दिएको उनले बताएका छन् । विगतका सरकारहरुले शुरु गरेको १८ हजार आयोजनाको स्रोत अस्तव्यस्त रहेको भन्दै उनले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न पार्टीको सुझाव रहेको उल्लेख गरे ।
संघीय सरकारले राष्ट्रियस्तरका रणनीति आयोजनामात्रै ध्यान दिएर बाँकी कामहरु प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको ज्ञवालीको भनाइ छ ।
टिप्पणीहरू