सरकार ढल्ने कि नढल्ने ?

सरकार ढल्ने कि नढल्ने ?

कांग्रेस सभापति शेरबहादुर देउवा बैंकक जानुभएको थियो । उहाँ उतै हुँदाहुँदै यताबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोन गयो ।

ओली    – हेलो, देउवाजी ! कता हो ?

देउवा – कता हुनु, यता बैंककमा । 

ओली    – के गर्दै हुनुहुन्छ ?

देउवा – अरे भन्देखिन्लाई के गर्नु र ? बैंकक आएको भन्दैमा जथाभावी नसोच्नुस् न, परिवारसँग आएको हुँ । 

ओली    – तपाईं उता बैंकक गएपछि यता काठमाडौंमा सरकार ढल्ने हल्ला चल्या छ । कुरा के हो ?

देउवा – हेत्तेरी, कहाँ ढल्नु सरकार ! सरकार होइन, मचाहिँ ढलें भन्ने हल्ला चलेको होला । हिजो अलि बढी भएछ, अहिले ओछ्यानमै ढलेको छु ।

ओली    – तपाईं आफूखुशी जहाँ ढल्नु छ ढल्नुस् । सरकार त ढाल्न पाइएन नि ! प्रचण्ड त यहाँ सरकार ढल्यो ढल्यो भनेर लागेको लाग्यै छन् ।

प्रचण्डसँग केही कुरा भएको थियो तपाईंको ?

देउवा – कसरी हुन्छ र भन्या कुरा । म यहाँ बैंककमा छु, त्यहाँ बसेको मान्छेसँग कसरी कुरा हुन्छ ?

ओली    – मोबाइलमा कुरा गर्न मिलिहाल्छ नि ! 

देउवा – मेरो मोबाइल त आरजुले लिएकी छन् । कुरा गर्न मिल्दैन । 

ओली    – कतै आरजुले नै कुरा गर्नुभयोे कि ?

देउवा – गर्‍या छैन होला । ऊ पनि त दिनभरि मैसँग बसेकी हुन्छे । 

ओली    – त्यसो भए म ढुक्क होऊँ त ?

देउवा – केमा ? ढल्नेमा कि नढल्नेमा ?

ओली    – नढल्नेमा ।

देउवा – हुन्छ हुन्छ, हुनोस् । मचाहिँ अहिले ढल्न गएँ है त ?

फोन सम्पर्क विच्छेद हुन्छ । केपी ओली ढुक्क भएको कुरा समाचारबाट थाहा पाइन्छ ।  
 

टिप्पणीहरू