भ्रष्टाचार रोक्न सरकारको साथ नपाएको अख्तियार प्रमुखको गुनासो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।
भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनले आज खुलासा गरेका हुन् । त्यसरी विदेशमा थुपारिएको सम्पत्ति नेपाल ल्याउन राईले सांसदहरुलाई आग्रह समेत गरे ।
‘हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो’, राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले भने, ‘सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’
अख्तियार प्रमुखले भ्रष्टाचारजन्य घटनाको अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी पनि गरेका छन् । आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनू-नचलाउनू भनि दबाब नआएको उनको जिकिर छ ।
‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरामा विमति होला । कसैको केही प्रभाव परेको पनि होला । तर, कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भरिहकै अवस्था हो’, राईको भनाई छ ।
सूचना प्रविधिको क्षेत्रमा हुने अनियमितता नियन्त्रणमा कायापलट गरेको दाबी गर्दै उनले भ्रष्टाचारमा मुछिएका कर्मचारीले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेका कारण अनुसन्धान प्रभावित हुने गरेको अनुभव पनि सुनाएका छन् ।
टिप्पणीहरू