अकुत सम्पत्ति जोडेका सब इञ्जिनियर विशेष अदालत धाउँदै
काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।
आयोगका अनुसार सब–इन्जिनियर पौड्याल २०५१ वैशाख ९ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनीविरुद्ध उजुरी परेपछि ०८० असार ३१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा तीन करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको पाइएको बताइन्छ ।
त्यसरी कमाएको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पौड्यालले आफ्नी श्रीमती विष्णु मैया पौड्यालको नाममा राखेको अख्तियारको दाबी छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७, ०४८ र ०५९ बमोजिम विष्णु मैयालाई समेत प्रतिवादी कायम गरी उक्त सम्पत्ति जफत गर्न मागदाबी गरिएको आयोगको भनाइ छ ।
टिप्पणीहरू