स्कुलबाट चोरिएका ल्याप्टप माटोमुनि भेटियो
ताप्लेजुङको एउटा विद्यालयबाट हराएका ८ वटा ल्याप्टप माटोमुनि गाडेको अवस्थामा फेला परेको छ । मैवाखोला गाउँपालिका-५ स्थित पाटीडाँडा माध्यमिक विद्यालयबाट चोरिएका ल्याप्टप १६ महिनापछि आज नजिकैको जंगलमा खाल्डोभित्र भेटिएको हो ।
विद्यालय नजिकैको जंगलमा खाडल बनाएर लुकाइराखेको अवस्थामा ल्याप्टप फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर रोहित शर्माले जानकारी दिए । उनका अनुसार ल्याप्टपलाई बोराभित्र राखेर, बोरालाई खाल्डाेमुनि गाडिएको थियो ।
‘हामीले १६ महिनादेखि विभिन्न घर र पसलहरुमा निगरानीसहित खोजी गरिरहेका थियौँ’, उनले जनआस्थासँग भने, ‘तर, माटोमुनि लुकाएर राखिएको अवस्थामा भेटियो, खाडल पनि ठूलै खनिएको रहेछ ।’
चोरीमा संलग्नहरुको खोजी भइरहेको उनले जानकारी दिए ।
बताइएअनुसार ह्युमन प्राक्टिस फाउन्डेशनले विद्यालयलाई सहयोगस्वरूप ११ वटा ल्याप्टप उपलब्ध गराएको थियो । जसमध्ये हराएका ३ वटा त्यतिबेलै भेटिएको थियो ।
टिप्पणीहरू