एकाबिहानै बस पल्टिँदा १५ जना सिकिस्त
चितवनमा आज एकाबिहानै यात्रुबाहक बस आफैं अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन् । बिहान साढे तीन बजेतिर रत्ननगर–१० को त्रिनेत्र पेट्रोल पम्पअगाडि काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोकिएर पल्टिएको हो ।
प्रहरीका अनुसार उक्त बसमा ३९ जना सवार थिए । घाइते चार जनालाई उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जनाइएको छ ।
तीमध्ये सिराहाको गाउँपालिकामा बस्ने ३९ वर्षीय बैतिक रामको बायाँ खुट्टा बायाँ हातमा चोट लागेको छ भने बोल्न सक्ने अवस्थामा नरहेका उनको उपचार भैरहेको छ । सोही ठाउँका २१ वर्षीय संजयकुमार मण्डलको टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।
सिराहाकै कल्याणपुर न.पा. ६ का १९ वर्षीय सल्मन ठाकुरको पनि टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ । अर्का धर्मेन्द्रकुमार चौधरी नाम गरेका ३५ वर्षीय व्यक्तिकोे दाहिने हातमा चोट लागेको र अवस्था सामान्य नै रहेको चितवन प्रहरी बताएको छ ।
अरुलाई रत्ननगरकै बकुलहर अस्पतालमा उपचारको लागि पठाइएकोमा सिराहाकै नवराजपुर गा.पा.४ का वर्ष १८ को नगेन्द्र शाह (बायाँ हातमा चोट), सिराहाकै भगवानपुर गापा–३ का वर्ष २१ को धरमनाथ यादव (टाउकोमा चोट), सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ का ३० वर्षीय जयप्रसाद शाह (बायाँ हात र ढाडमा चोट), सिराहा कर्जन्हा नपा–४ का ४० वर्षीय दिपेन्द्रकुमार शाह (दाहिने हातमा चोट), सप्तरी जिल्लाकै वर्ष २८ को गजेन्द्र कुमार शाह (बायाँ कुहिनामा चोट) रहेका छन् ।
यसैगरी, सप्तरी राजविराज न.पा.१ बस्ने वर्ष २८ को दिनेशकुमार शाह (टाउकोमा चोट) भारत घर भएका ४० वर्षीय रामकृष्ण राउत (छाती र अनुहारमा चोट), सिराहा नवराजपुर गापा–३ बस्ने वर्ष १९ को चन्दनकुमार यादव (दाहिने हातमा चोट), सिराहाकै वर्ष २४ को जीवनकुमार पासवान (बायाँ खुट्टामा चोट), सप्तरी राजविराज–१ का २८ वर्षीय दिनेश शाह (टाउकोमा चोट) र बसका सह चालक काठमाडौं महानगरपालिका–१० बस्ने वर्ष २७ को हरि गौतम पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु सबैको अवस्था सामान्य नै रहेको प्रहरी विवरणमा उल्लेख छ । घटनास्थलमा प्रहरी बिट कृष्ण मन्दिरबाट खुसीलाल प्रजा र इप्रका रत्ननगर टाँडीबाट प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको कमाण्डमा टोली खटिएका थिए ।
उक्त बस र बस चालक सिराहाका वर्ष ४७ को कृष्ण यादव, वर्ष ३९ को सन्तोषकुमार यादव र सहचालक काठमाडौंका हरि गौतम तीनै जना प्रहरीको नियन्त्रणमा रहेको जानकारी गराइएको छ । यहाँ बाटो अवरोध नभएको पनि प्रहरीले बतायो ।
टिप्पणीहरू