माधव नेपालविरुद्धको मुद्दामा सबै कागजात पेश गर्न आदेश
विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा अनियमितताको अभियोग लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउने निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल,उजुरी तथा कागजात झिकाउन आदेश दिएको छ।
आजको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा दायर गर्दा प्रयोग गरिएका सबै कागजात पेश गर्न भनेको हो । अदालतले यसअघि २०६९ साल मंसिर २५ गते अख्तियारले गरेको निर्णयको प्रतिलिपी पनि झिकाउन आदेश दिएको छ।
आदेशअनुसार अख्तियारबाट मुद्दा चलाउने निर्णय गर्दाका फाइल,उजुरी, सरकारी साक्षीहरू तथा प्रतिवादी पक्षका साक्षीहरू विशेष सरकारी वकिलको कार्यालयमार्फत् पेश गर्नुपर्नेछ। साथै,साक्षीहरूलाई प्रत्यक्ष वा भिडियो कन्फरेन्समार्फत् इजलासमा उपस्थित गराई बकपत्र गराउन भनिएको छ।
यसअघि विशेष अदालतले तत्कालीन प्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीसम्बन्धी आदेशमा पतञ्जलीसम्बद्ध कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने तथा पछि सो जग्गा अन्य व्यक्तिलाई बिक्री–वितरण गर्न दिने गरी तत्कालीन मन्त्रिपरिषदबाट भएका निर्णयहरू ‘विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्छन् वा पर्दैनन्’ भन्ने प्रश्नको निरूपण मुद्दाको अन्तिम फैसलामा हुने उल्लेख छ।
अब पतञ्जली जग्गा अनियमितता प्रकरणमा अख्तियारबाट आवश्यक कागजात प्राप्त भएपछि मात्र मुद्दाको सुनुवाइ अघि बढ्ने अदालतले जनाएको छ ।
टिप्पणीहरू