बत्ती जान थालेपछि पत्रकारसङ्ग पुकार, देशैभरि रुख ढलेको प्रचार
नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादनको तुलनामा प्रशारण नेटवर्क विस्तार हुन नसक्दा सिस्टममा समस्या आउन थालेको बताएको छ । त्यसलाई सुधार गर्न अहिले सिस्टममा काम भइरहेको जानकारी पनि दिएको छ ।
तीन हप्तायता उपत्यकासहित आसपास र पूर्वी जिल्लाहरुमा छिन छिनमै विद्युत अवरुद्ध हुँदै आइरहेको छ । हिजो साँझ पनि विभिन्न ठाउँमा पटकपटक करिब एक घण्टा विद्युत अवरुद्ध भएको थियो ।
उक्त पृष्ठभूमिमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज आकस्मिक पत्रकार सम्मेलन गरेर विद्युत अवरुद्ध हुनुको कारणबारे जानकारी गराएका छन् । उनका अनुसार हिजो ६ : ३८ मा अत्याधिक हावाहुरीको कारण ढल्केबर-नवलपुरको प्रशारण लाइनमा दुई वटा रुख ढलेको कारण विद्युत अवरुद्ध भएको हो । ‘हिजो साँझ त्यो क्षेत्रमा चक्रवातजस्तो शक्तिशाली हावाहुरी चलेको थियो,प्रशारण लाइनमा दुई वटा रुखको हाँगा खसेपछि सिस्टम रोकिएको हो’, उनले भने, ‘ढल्केवरबाट पश्चिम जाने र वीरगञ्जदेखि पश्चिम जाने प्रशारण लाइनमा पनि उस्तै समस्या आयो ।’

विद्युत उत्पादन बढ्दै गए पनि प्रशारण गति बढाउन नसक्दा सिस्टममा समस्या आएको शाक्यको भनाई छ । प्रशारण विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले थपे, ‘हिजो साँझै मैले दुई घण्टा कन्ट्रोल रुपमा बसेर हेरेँ, त्यसपछि ट्रान्समिसन,डिस्ट्रिब्युसन, सिस्टम कन्ट्रोल,सिस्टम प्लानिङका सबैलाई बोलाएर छलफलसमेत गरेँ, कमजोरी पत्ता लगाएर सुधार्दैछौँ ।’
कतिपयले फेरि लोडसेडिङ हुन लागेको हल्ला चलाए पनि त्यो सत्य नभएको शाक्यको दावी छ । ‘कुनै चिन्ता लिनुपर्दैन,प्राविधिक समस्या हो,विद्युत उत्पादन बढ्दै गएपछि सिस्टमलाई पनि बलियो बनाउनुपर्ने हुन्छ, रत्यसकै कामहरु भइरहेका छन्’,उनले विश्वास दिए ।

टिप्पणीहरू