हिमाल हेरेर फर्किए विदेशी पाहुना, ‘काठमाडौँ घोषणा’को तयारी

‘सगरमाथा संवाद’ का लागि नेपाल आएका विशिष्ट विदेशी पाहुनाहरुले हिमशृङ्खलाहरूकाे दृश्यावलोकन गरेका छन् । माउन्टेन फ्लाइटमार्फत् आज बिहान सगरमाथा, कञ्चनजंघा, गौरशंकर, मनास्लुलगायत हिमालको दृश्यावलोकन गराएको हो ।
शुक्रबारदेखि जारी सगरमाथा संवादमा विभिन्न १२ देशका राजनीतिज्ञ तथा विज्ञहरुको सहभागिता छ । करिब एक घण्टाको माउन्टेन फ्लाइटमा उनीहरुले नजिकबाट हिमशृङ्खला हेरेका थिए ।
जलवायु परिवर्तनले हिमालमा परेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउन विदेशी पाहुनालाई हिमाल घुमाउने कार्यक्रम आयोजना गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले माउन्टेन फ्लाइटको सहजीकरण गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘संगरमाथा संवाद’ मा विविध पाँच थिममा १२ वटा छलफल सत्र (प्लेनरी सेसन) आयोजना गरिएकोमा दुई सत्र अझै बाँकी छ । आज लञ्चपश्चात बाँकी छलफलपछि ‘काठमाडौँ घोषणा २०२५’ जारी गर्दै कार्यक्रम समापन गर्ने कार्यसूची छ ।
टिप्पणीहरू