फौजदारी न्यायमा गहिरो चोट
कानुन पोलेर मुद्दा कमजाेर

पछिल्लो समय सरकारी वकिलले दर्ता गरेका दुइटा मुद्दाको अभियोजनमा अपनाइएको कार्यविधिका कारण फौजदारी न्यायको मर्ममाथि गहिरो चोट पुगेको भन्दै चारैतिर चिन्ता प्रकट भएको छ ।
बाहुबलि व्यक्ति मुछिएको काठमाडौं बालमन्दिर जग्गा ठगी प्रकरण र मोरङको उमागौरी सहकारी घोटालामा प्रहरी र सरकारी वकिलले दोहोरो चरित्र देखाएपछि विवाद बल्झिएको हो । बालमन्दिर प्रकरणमा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य र अर्का प्रतिवादी योगेन्द्रबहादुर शाहीमाथि अनुसन्धानको औपचारिक प्रक्रिया नै शुरु नगरी फितलो अभियोगपत्र दर्ता गरिएको पाइएको छ । अदालत स्रोतका अनुसार वैद्यको त बयान पनि लिइएको छैन । वैद्य बिरामी र शाहीलाई वृद्ध देखाएर हिरासतमा लिन पनि आवश्यक ठानिएन । काठमाडौंमै रहेका व्यक्तिलाई समेत बयान नै नलिई ‘फरार’ देखाएर अभियोगपत्र दर्ता गरियो ।
फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९८ ले अनुसन्धानका क्रममा प्रतिवादीको बयान अनिवार्य रूपमा लिनुपर्ने भन्छ । काठमाडौं जिल्ला अदालतको मुद्दा दायरी फाँटका एक कर्मचारीका अनुसार वैद्यलाई त सोधपुछसमेत गरिएको छैन । यसरी प्रहरीमा उपस्थित हुन सक्ने आरोपीलाई फरार देखाएर ठगी मुद्दा दर्ता गर्ने कार्यले राजनीतिक संरक्षणको आशंका जन्माएको छ । गत बुधबार वैद्यसहित १७ जनाविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता गरिएको थियो । यीमध्ये वैद्यसहित सबैलाई फरार बनाएर मुद्दा दायर गरिएको हो । १६ जनालाई फरार देखाइए पनि बयान भने लिइएको छ ।
बालमन्दिर हिनामिना प्रकरणमा शुरुमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत माघ १४ गते मुद्दा नचलाउने निर्णय गरेको थियो । बाहिरी दबाब थेग्न नसकेपछि अन्ततः गत वैशाख २२ गते महान्यायाधिवक्ता कार्यालयले घटनाका आरोपीविरुद्ध ठगी मुद्दा दर्ताको निर्णय गर्यो । त्यसै दिन मुद्दा दर्ता भयो । बालमन्दिर प्रकरणमा वैद्यसँगै फरार देखाइएका १७ जनासँग ६० करोड ३९ लाख बिगो दाबी र सात वर्ष कैद सजायको माग गरिएको छ ।
बालमन्दिरकी वैद्य मात्र नभई मोरङको उमागौरी सहकारी घोटाला प्रकरणमा पनि एकैखाले दोहोरो मापदण्ड अपनाइएको थियो । एमाले नेता एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि २२ करोड रूपैयाँभन्दा बढीको सहकारी हिनामिना आरोपमा पनि ‘फरार’ देखाएर मुद्दा दर्ता गरियो । जतिबेला अञ्जला घरमै थिइन् ।
संसददेखि सडकसम्म चौतर्फी आलोचना भएपछि कोइराला अदालतमा आफैँ हाजिर भइन् । हाजिर भएकै दिन बयान, थुनछेक बहश र १० लाख रूपैयाँ धरौटी बुझाउने कार्य सम्पन्न भयो । यसरी घरमै बसेका ‘बाहुबली’ आरोपितलाई ‘फरार’ देखाउने परिपाटीको शुरुवात गरिएको छ । यसले कानुनी औपचारिकता र झारा टार्नका लागि मुद्दा दर्ता गर्ने जस्तो व्यवहार राज्य संयन्त्रबाट देखिएपछि फौजदारी न्यायप्रति नै चिन्ता बढेको हो । राजनीतिक पहुँचका भरमा आरोपितलाई अनुसन्धान र पक्राउबाटै फुर्सद दिलाउने राजनीतिले फौजदारी न्याय मर्ने खतरा देखिएको छ ।
फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार आरोपितलाई फरार देखाउनुअघि प्रहरीले निश्चित कानुनी प्रक्रिया अपनाउनुपर्ने हुन्छ । यसअन्तर्गत घरमा खोजतलास गर्ने, पक्राउ पुर्जी टाँस्ने, सार्वजनिक सूचना प्रकाशित गर्ने जस्ता प्रक्रिया पर्छन् । तर, वैद्य र कोइरालाको हकमा यी प्रक्रिया मौन देखिए । बाल संगठनका पदाधिकारीलाई साक्षीसमेत बनाएको देखिँदैन । उनीहरू मात्र नभई पछिल्लो समय फरार देखाइएका कतिपय अभियुक्त नै सार्वजनिक कार्यक्रममा खुलेआम सहभागी भइरहेका छन् । यसरी ‘फरार’ देखाइने अधिकांश व्यक्ति सामान्य नागरिक नभएर सत्ता नजिकका पहुँचवालाहरू हुने गरेका छन् । सर्वसाधारणले भने सामान्य आरोपमा पनि पक्राउ खानुपर्ने विरोधाभाषपूर्ण अवस्था छ ।
टिप्पणीहरू