फोटो र भिडियो हेरेर कारबाही गर्दै ट्राफिक प्रहरी

फोटो र भिडियो हेरेर कारबाही गर्दै ट्राफिक प्रहरी

कपिलवस्तु प्रहरीले ट्राफिक नियम पालनामा सुधार र बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ अभ्यास थालेको छ । ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनका चालकमाथि भिडियो तथा फोटोका आधारमा कारबाही गर्ने अभियानको शुरुवात गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनको फोटो तथा भिडियो खिचेर पठाउन आग्रह गरेको छ । ट्राफिक व्यवस्थापनलाई अझ चुस्त, प्रविधियुक्त र समयसापेक्ष बनाउने उद्देश्यले यो अभियान थालिएको प्रहरीको भनाइ छ ।

प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने गाडीको नम्बर स्पष्ट देखिनेगरी फोटो तथा भिडियो खिचेर स्थान, समय, मिति र कसुर उल्लेख गरी पठाउन अनुरोध गरेको छ । 

भनिएको छ, ‘जिल्लाअन्तर्गतका स्थानहरुमा कुनै पनि सवारीसाधनले ट्राफिक नियम उल्लंघन गरेको पाइए वा देखिएमा सवारीसाधनले ट्राफिक नियम उल्लंघन गरेको कसुर, स्थान, समय र मिति तथा सवारीसाधनको नम्बर स्पष्ट हुनेगरी खिचिएको फोटो तथा भिडियोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको इमेल ठेगाना वा मोबाइल नम्बर ९८५७०५१०३८ वा वाट्सएप गरी सहयोग गर्नुहुन अनुरोध छ ।’

यसरी प्राप्त भएको फोटो तथा भिडियोको आधारमा नियम उल्लंघन गर्ने सवारीसाधनको खोजी गरी कानूनबमोजिम कारबाही गर्ने र सूचना दिने व्यक्तिको विवरण गोप्य राख्नेसमेत जनाइएको छ ।

टिप्पणीहरू