मध्यरातमा भड्किलो डिजे, ध्वस्त विवाह मण्डपमा पाँच घाइते

मध्यरातमा भड्किलो डिजे, ध्वस्त विवाह मण्डपमा पाँच घाइते सांकेतिक तस्विर
सुन्नुहोस्

तराईमा विवाह उत्सवहरुमा प्रयोग गरिने भड्किलो डिजे समस्या हुन थालेको छ । डिजेकै कारण समाज उच्छृङ्खल बन्दै गइरहेको अनुमान लगाउन सकिन्छ । डिजेकै कारण मोरङमा एउटा बिहेघरमा झगडा हुँदा झण्डै विवाह नै भाँडिएको बताइन्छ ।

अस्ति रातिको घटनाअनुसार भड्किलो बिहेमा नाच्ने क्रममा मोरङको धनपालथान गाउँपालिका–६, कदमाहको एक बिहेघरमा बेहुला र बेहुली पक्षबीच झडप भएको बताइन्छ । उक्त घटनामा पाँच जना घाइते भएका छन् । राति साढे ११ बजेतिर मापसे गरेर डिजेमा नाच्ने क्रममा बेहुली पक्षका घरगाउँले र बेहुला पक्षका जन्तीबीच विवाद भएको थियो । विवाद बढेर झडपमा परिणत हुँदा दुबै तर्फका पाँच जना घाइते भएका हुन् । 

रमाइलो वातावरण भइरहेको बिहे घरमा मध्यरातको समयमा झडप भएपछि बेहुला र बेहुलीपक्षले हतारहतार वैवाहिक कर्म सकाएका थिए । प्रहरीले स्कर्टिङ गरेर बेहुलाबेहुलीलाई सुरक्षितसँग पठाएको  बताइन्छ । झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् । 

प्रहरीका अनुसार विराटनगरको पिचराबाट बेहुलापक्ष दुलही लिन धनपालथानको कदमाह पुगेको थियो । अकस्मात डिजेको निहुँमा झडप भएपछि बिहेघर रणमैदानमा परिणत भएको हो । आक्रोशित बेहुला पक्षले बेहुली पक्षको घरका कुर्सीहरु तोडफोड गरेपछि विवाह मण्डप नै भत्काइदिएका थिए ।

टिप्पणीहरू