हाकिमहरु हुल बाँधेर सभामुखको दैलोमा, मन्त्रालयअगाडि कर्मचारीको धर्ना

हाकिमहरु हुल बाँधेर सभामुखको दैलोमा, मन्त्रालयअगाडि कर्मचारीको धर्ना

संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिबाट हालै पारित विधेयक कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आज सामान्य प्रशासन मन्त्रलय अगाडि नाराजुलुससहित धर्ना दिएका हुन् । विधेयकमा कर्मचारीहरूको वृत्ति विकास, सरुवा र बढुवाको विषय स्पष्ट पार्दै सेवासुविधा कटौती गर्ने प्रावधान हटाउनुपर्ने माग उनीहरुको छ । 

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष काम गरेका कर्मचारीको एक तह र दश वर्ष काम गर्नेको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्नेमा जोड दिए । 

मेचीको मान्छे दार्चुला गएर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले कर्मचारी घर जान पाउने कि नपाउने ? भन्दै प्रश्न गरे । ट्रेड  युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने अडान उनले सुनाए ।  

स्थानीय तह र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने आफूहरुको माग विधेयकले नसमेटेको आन्दोलनरत कर्मचारीको भनाइ छ । करार कर्मचारीले रित्तो हात घर फर्कन नपर्नेगरी कानुन बनौं पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

संसदको राज्यव्यवस्था समितिले जेठ २ गते पारित गरेको विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई लिएर पनि कर्मचारी नेतृत्व असन्तुष्ट छ । मुख्य सचिव र सचिवहरुको टोलीले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर यसबारे आफ्नो चासो र सरोकार सुनाइसकेका छन् ।

टिप्पणीहरू