खानेपानीमा एमाले संस्थापन समूह पराजित

खानेपानीमा एमाले संस्थापन समूह पराजित

मोरङको विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था (मानगढ) को अध्यक्षमा नेकपा एमालेका लालमणि भट्टराई विजयी भएका छन् । एमालेको इतरपक्ष भनेर चिनिएका विनोद ढकाल समूहका भट्टराईले संस्थापन पक्षका रामबहादुर घिमिरेलाई ठूलो मतान्तरले हराएका हुन् । 

लालमणिले एक हजार ८८९ र रामबहादुरले एक हजार १५४ मत प्राप्त गरेका छन् । त्यसैगरी, लोकतान्त्रिक प्यानलबाट चुनावमा होमिएकी नेपाली काँग्रेसकी उम्मेदवार दुर्गा चापागाईँले ६३५ मत पाइन् । निर्वाचनका निम्ति लालमणि समूहले प्रगतिशील र दुर्गा समूहले लोकतान्त्रिक प्यानल बनाएको थियो ।

रामबहादुरले सम्पूर्ण पार्टीका उम्मेदवार मिलाएर संयुक्त प्यानल बनाएका थिए । संस्थाको महिला उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकी उम्मेदवार सावित्राकुमारी पोखरेल र खुला उपाध्यक्षमा भोला घिमिरे निर्वाचित भएका छन् । सचिवमा प्रगतिशीलतर्फका प्रदीपकुमार नेपालले बाजी मारेका छन् । कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भएका छन् । 

विराटनगर महानगरको उत्तरी क्षेत्रमा पर्ने विराट खानेपानीमा झण्डै छ हजार उपभोक्ता छन् । तर, अस्ति शनिबार भएको मतदानमा जम्मा तीन हजार ९६४ जनाले मात्र भोट हालेका थिए । तीमध्ये तीन हजार ६७८ मत सदर भएको थियो । निर्वाचनका लागि तीनवटै प्यानलले आक्रामक रुपमा चुनावी प्रचारप्रसार गरेका थिए । 

२०८१ जेठ १९ गते तोकिएको संस्थाको निर्वाचन चरम राजनीतिका कारण स्थगित हुन पुगेको थियो । निर्वाचन गर्न माग गर्दै उच्च अदालत, विराटनगरमा रिट दर्ता भएको हो । गत फागुन २७ गते उच्चले निर्वाचनका उम्मेदवार र मतदाता यथावत राखेर तीन महिनाभित्र मतदान गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गराइएको मतदान र मतगणना शान्तिपूर्वक तवरबाट सम्पन्न भएको जनाइएको छ ।

गत वर्ष भएको निर्वाचनमा समर्थन गर्ने र आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै एमाले जिल्ला कमिटीमा चर्को विवाद भएको थियो । पार्टीका आधिकारिक उम्मेदवार रामविरुद्धले लालमणिलाई उम्मेदवार बनाइएकोमा तत्कालीन महानगरपालिका समितिका अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपाल र वडा पार्टी अध्यक्ष रहेका भट्टराई कारबाहीमा परेका थिए । 

तर, एमालेको दशौं जिल्ला अधिवेशनमा इतर पक्ष विनोद समूहको प्यानल नै विजयी भएपछि सबैको कारबाही फुकुवा भइसकेको छ । कारबाहीमा परेका नगरअध्यक्ष थापा हाल एमाले जिल्ला कमिटीको उपाध्यक्ष छन् ।

टिप्पणीहरू