यो बर्ष प्रकोपको झन ठूलो खतरा

यो बर्ष प्रकोपको झन ठूलो खतरा

मनसुनजन्य विपदको पूर्वतयारीमा सरकार जुटेको छ । यो वर्ष औसतभन्दा बढी वर्षा र गर्मी हुने अनुमान गरिएसँगै त्यसबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सिंहदरबारमा बैठक बस्न लागेको छ । 

मनसुनजन्य विपद् व्यवस्थापन पूर्वतयारीका लागि पर्सि बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बैठक बोलाइएको छ । बैठकले मनसुन अवधिमा हुनसक्ने विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गर्ने बुझिएको छ । 

नेपालमा मनसुन अवधि जेठ १८ गतेदेखि असोज १४ गतेसम्म मानिन्छ । मुलुकमा हरेक वर्ष मनसुनमा सयौंको मृत्यु र अर्बौको धनमालको क्षति हुने गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले केही दिनअघि ‘राष्ट्रिय मनसुन फोरम, २०८२’ सार्वजनिक गर्दै यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने जानकारी गराएको थियो । 

विभागका अनुसार देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरिएको छ । 

यो अवधिमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपको उच्च जोखिम रहँदा विपद्का घटना बढ्न सक्ने भएकाले तयारी अवस्थामा बस्न तथा पूर्वतयारीमा लाग्नसमेत विभागले सुझाएको थियो । 

सोहीअनुरुप पर्सि विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने बैठकले मनसुनमा आइपर्ने विपद्को सामना गर्न कार्ययोजना तयार गर्न लागेको जनाइएको छ ।

टिप्पणीहरू