बाढीको कारण खोज्दै जाँदा हिमताल फेला

बाढीको कारण खोज्दै जाँदा हिमताल फेला

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६, तिलगाउँमा तीन वटा हिमताल फेला परेको छ । अघिल्लो साता आएको बाढी र पहिरोबारे अध्ययन गर्न पुगेको प्राविधिक टोलीले नयाँ हिमताल भेटिएको जनाएको छ ।

तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न केही दिनअघि त्यहाँ पुगेको प्राविधिक टोलीले पाँच हजार तीन सय ५० मिटर उचाईमा तीन वटा हिमताल भेटाएको हो । 

यसअघि स्थानीय युवाले दुईवटा हिमताल देखिएको बताएका थिए । तर अहिले तीन वटा भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताए । भेटिएका हिमतालहरुको बारेमा थप अध्ययन गरिरहेको उनले जानकारी दिए ।

अध्ययन टोलीमा बास्कोटासहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । 

जेठ १ गते राति नाम्खा गाउँपालिका–६, तिलगाउँमा बाढी र सुख्खा पहिरो जाँदा १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् । हिमताल फुटेर बाढी गएको आशंकापछि अध्ययन गर्न प्राविधिक टोली त्यहाँ पुगेको हो । बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयलाई गाउँभन्दा केही परको विद्यालयमा सारिएको छ ।
 

टिप्पणीहरू