प्रधानमन्त्री अनुपस्थितिको चुरो कुरो ‘विज्ञप्ति’ !
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज फेरि आलोचना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको निमन्त्रणालाई स्वीकारेर अन्तिम क्षणमा ‘अनुपस्थिति’ को सन्देश पठाएपछि उहाँबारे अनेक टिप्पणी गर्न थालिएको छ ।
एक साताअघि आयोगको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका लागि गरिएको आमन्त्रण स्वीकार गरेपनि आज एकाएक अनुपस्थित हुनुभएको छ । आयोगले हरेक वर्ष जेठ १३ गते वार्षिकोत्सव मनाउँछ ।
यसपटक स्थापनाको २५औँ वार्षिकोत्सव आयोगले विशेष रुपमा मनाउने तयारी गरेको थियो । आज कार्यक्रम सुरु हुनुभन्दा एक घण्टाअघि उहाँले नआउने सन्देश पठाएपछि आयोजकहरु रनभुल्लमा परेका हुन् ।
आयोग स्रोत भन्छ, ‘२५ वर्ष पुगेको हुनाले यस वर्ष झन् विशेष गरौँ भनेर आयोगको प्राङ्गणमा स्टेज बनाएका थियौँ’, स्रोत भन्छ,‘तर प्रधानमन्त्रीज्यूले १० बजेतिर नआउने सन्देश पठाउनुभयो, निकै खल्लो भयो ।’
प्रधानमन्त्री अनुपस्थित हुने भएपछि कार्यक्रममा कसैलाई पनि अतिथिको आसन ग्रहण नगराइएको पनि स्रोतले जानकारी दियो । ‘प्रधानमन्त्रीज्यू प्रमुख अतिथिको रुपमा आएको खण्डमा अन्य विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुलाई अतिथिको आसन ग्रहण गराउने कुरा थियो, तर भएन । चेयरम्यान (टोपबहादुर मगर) सरले अध्यक्षता गर्नुभयो, अनि छोटोमा औपचारिकता पूरा गरेर कार्यक्रम सकियो ।’
११ बजेदेखि ३ बजेसम्म हुने भनिएको कार्यक्रम १२ बजे नै सकियो । ‘जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रण हुनुपर्छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध हिजो आयोगले विज्ञप्ति जारी गरेको थियो । सोही कारण प्रधानमन्त्रीले कार्यक्रममा नजाने निर्णय गर्नुभएको धेरैको बुझाइ छ ।
जनआस्थाको जिज्ञासामा आयोग स्रोत भन्छ, ‘त्यही विज्ञप्ति नै होला । कार्य व्यस्तताले आउन नभ्याएको भने पनि मुख्य कारण हिजोको विज्ञप्ति नै हो भन्ने लाग्छ ।’
टिप्पणीहरू