गृहमन्त्रीमाथि दबाब बढ्दै, सडकदेखि सदनसम्म विरोध
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग समाजवादी मोर्चामा आवद्ध दलका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र वाइसिएल, एकीकृत समाजवादीको अनेरास्ववियु र युवा संघ अनि विप्लव समूहसम्वद्ध अखिल समाजवादी र युवा संगठनले आज माइतीघरमा संयुक्त प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘भ्रष्ट गृहमन्त्री राजीनामा दे’, ‘भिजिट भिसा काण्डको निष्पक्ष छानविन गर’, ‘मानव तस्कर सरकार मूर्दावाद’, ‘नालायक गृहमन्त्री चाहिँदैन’ जस्ता नाराबाजी गरे । ‘अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचविखन तथा देशद्रोहीविरुद्ध विरोध प्रदर्शन’ लेखिएको कालो ब्यानरसहित सडकमा उत्रिएका उनीहरुले हातमा प्लेकार्ड बोकेका छन् ।
उता प्रतिपक्ष दलका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद तताएका छन् । गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ ।
टिप्पणीहरू