अन्यत्र बजेटको चटारो, खाँदबारीमा अमेरिका सयरको तामझाम
संघीय सरकारले पर्सि आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दैछ । यतिबेला अर्थ मन्त्रालयका अधिकारीहरुलाई बजेट निर्माण गर्न भ्याईनभ्याई छ । संघले बजेट ल्याएको एक महिना अर्थात् असार १० गतेभित्र देशभरका स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
सोहीअनुरुप अधिकांश स्थानीय तह बजेट निर्माण प्रक्रियामा जुटिसकेका छन् । तर, संखुवासभाको एक स्थानीय तहका जनप्रतिनिधिहरु भने बजेटको चटारोमा विदेश भ्रमणमा निस्किने तामझाममा व्यस्त देखिन्छन् । खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाको नेतृत्वमा कर्मचारीहरु अमेरिका जान लागेका हुन् ।
मेयरकी पत्नीसहित उपमेयर महेश्वरा श्रेष्ठ (बज्राचार्य), प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगार्इं, अर्का प्रशासकीय अधिकृत लवहाङ राईसहित कर्मचारीहरु अमेरिका भ्रमणमा जाँदैछन् । त्यसका लागि भिसा प्रक्रिया अघि बढाइएको छ ।
केही समयअघि मात्रै भारतीय दूतावासको प्रायोजनमा भारत घुमेर फर्किएका उनीहरु फेरि बजेटको चटारोमा विदेश भ्रमणमा जान लागेपछि स्थानीयहरुले चर्को विरोध गरेका छन् । जनताको काम गर्नभन्दा पनि विदेश भ्रमणमा जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएको स्थानीयको आरोप छ ।
एक जनाले भने, ‘यसअघि पनि नगरपालिका नै रित्तो पारेर मेयरको नेतृत्वमा जम्बो टोली भारत गयो । कर्मचारी र जनप्रतिनिधि नहुँदा हामी सेवाबाट वञ्चित हुनुपर्यो । यस पटक पनि नगरपालिका खाली छोडेर अमेरिका जान लागिएको छ । यो पटक चाँहि कति दिन सेवा रोकिने हो कुन्नि ।’
अर्का स्थानीयले पनि पालिकाको सेवा ठप्प पारेर मामाघर, माइत वा ससुराली गएझँै जनप्रतिनिधि र कर्मचारीहरु विदेश भ्रमणमा गइरहेको तर उपलब्धि भने शून्य रहेको बताए । भन्छन्, ‘एउटा देशबाट फर्किएको महिना नबित्दै अर्को देश गइन्छ । फेरि उपलब्धि केही भएको भएपनि हुन्थ्यो । उपलब्धि चाँहि केही छैन । राज्यकोषको रकम मात्र दुरुपयोग भइरहेको छ ।’
गत फागुनमा मात्र मेयर थपलियासहित नगरपालिकाका आठ कर्मचारी भारत भ्रमणमा गएका थिए । नगरपालिका रित्तो पारेर जनप्रतिनिधि र कर्मचारी हैदरावाद घुम्न गएपछि झण्डै दुई साता सेवा प्रवाह रोकिएको थियो । त्यसअघि मेयर थपलिया अमेरिका नै गएका थिए ।
उनी नगरपालिकाभन्दा काठमाडौंमा बढी बस्ने र विदेश भ्रमणमा गइरहने हुनाले जनप्रतिनिधि भएको अनुभूति गर्न नपाएको स्थानीयको गुनासो छ । स्रोतका अनुसार अमेरिकामै परिवार सेटल गर्ने थपलियाको योजना रहेको गाईंगुईं छ ।
त्यसैले, मेयरमा निर्वाचित भएयता उनको अमेरिका आउजाउ बढेको स्रोतले जनाएको छ । ‘यही कार्यकाल अन्तिम हो भनेर थपलियाले बुझिसके । श्रीमती, छोराछोरीसहित उतै (अमेरिका) सेटल हुने उनको योजना छ । यसले अमेरिका आउ–जाउ बढेको हो,’ स्रोतले भन्यो ।
यता, नगरपालिकाका सूचना अधिकार दिनेश कट्टेल अमेरिकाको कोलोराडोस्थित टाउन अफ सुपेरियरको निमन्त्रणामा त्यता जान भिसा प्रक्रिया अघि बढाएको बताउँछन् । सन् २०२२ मा नगरपालिका र टाउन अफ सुपेरियरबीच भएको भगिनी सम्झौताअनुरुप दुवै देशका जनप्रतिनिधि र कर्मचारी एकअर्काको देश जाउआउ गर्ने गरेको उनको भनाइ छ ।
‘भगिनी सम्झौताअन्तर्गत एकअर्काको पर्यटन, शिक्षा, व्यापार, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रका अनुभव आदानप्रदान गर्ने गरिन्छ । सम्झौतापछि टाउन अफ सुपेरियरका जनप्रतिनिधि र कर्मचारी पनि खाँदबारी आउनुभएको थियो । उहाँहरुकै निमन्त्रणामा यसअघि नगरपालिकाबाट पाँच जनाको टोली अमेरिका गएको थियो । अहिले फेरि निमन्त्रणा आएको हुँदा भिसा प्रक्रिया अघि बढाइएको छ,’ कट्टेलले भने ।
यसरी अमेरिका जाँदा नगरपालिकाको एक रुपैयाँ खर्च नगरेको उनको दाबी छ । ‘हाम्रो खर्च सबै टाउन अफ सुपेरियरले व्यहोर्ने गरेको छ । अहिलेसम्म नगरपालिकाको एक रुपैयाँ पनि खर्च गरिएको छैन,’ उनले भने ।
टिप्पणीहरू