विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दा एमालेको विरोध
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्ने प्रतिपक्ष दलको कदमलाई असंसदीय र अराजनीतिक व्यवहार भनी टिप्पणी गरेका छन् । कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्न नपाइने उनको प्रष्ट भनाइ छ ।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलालले कर्मचारीहरुले गरेको बदमासीमा जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले हरेक दिन मन्त्रीले राजीनामा दिँदै जानुपर्ने अवस्था आउने उनको अनुमान छ ।
‘पटक पटक सरकारमा बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसदमा पुनरावृत्ति भयो', बर्तौलाले भने, 'यो एकदमै दुःखद् कुरा छ । किनभने कर्मचारीहरुमाथि विगतमा धेरै अध्ययन अनुसन्धान भएका छन् । कारबाहीको तहमा पनि पुगेका छन् । हरेक कर्मचारीहरु नियन्त्रणमा रहेका, अनुसन्धानको दायरामा रहेका कर्मचारीहरुको सन्दर्भलाई जोडेर मन्त्रीहरुको राजीनामा माग्ने, मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने कार्यको निरन्तरता गर्न हामीले खोजेका हौँ भने हरेक एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुन्छ ।'
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले आजको संसद बैठक अवरुद्ध पारेका थिए । उक्त कुराको विरोध गर्दै प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र बर्तौलाले विपक्षीहरु 'धान खाने मुसा, दोष पाउने भ्यागुता' प्रवृत्तिमा जान खोजेको आरोप लगाए ।
टिप्पणीहरू