माननीयहरुबीच पहिले हानाहान, अहिले लपक्कै
प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा माइक ‘हानाहान’ गर्ने दुई माननीयबीच मिलापत्र भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा समिति सभापति किरणकुमार साह र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीबीच त्यस्तो सहमति भएको हो ।
समितिको गत बुधबारको बैठकमा सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै कुसारीले माइक र आफ्नो अगाडि राखिएको नेमप्लेट उठाएर हानेकी थिइन् । यद्यपि, सभापति साहलाई लागेन तर दुवै माननीयबीच चर्काचर्की भयो ।
बैठकमा लफडा भएपछि सभामुख घिमिरेको कार्यकक्षमा तत्काल बोलाइएको छलफलमा उनीहरुबीच सहमति जुट्न सकेन । आज भने सभामुखको कार्यकक्षमा उपसभामुख, महासचिव, सचिवसहितको उपस्थितिमा आपसी संवादमार्फत असमझदारीलाई सुल्झाइएको छ ।
सभापतिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त विषयलाई लिएर सम्माननीय सभामुखको कार्यकक्षमा आयोजित छलफलमा उपसभामुखज्यू, महासचिवज्यू, सचिवज्यू, माननीय सिताकुमारी रानाज्यु तथा हामी दुवै जना उपस्थित थियौं । हामीले आपसी संवादमार्फत सामान्य असमझदारीलाई सहज ढंगले मेलमिलाप गरी सुल्झाएका छौं ।’
संसदीय प्रक्रियाभित्र कहिलेकाँही विचार भिन्नता हुनु स्वभाविक रहेको जनाउँदै साहले थपेका छन्, ‘त्यसलाई संवाद र समझदारीबाट समाधान गर्नु नै लोकतान्त्रिक पद्धतिको सुन्दर अभ्यास हो ।’
टिप्पणीहरू