गृहमन्त्रीले पद छोड्न नपर्ने बालुवाटारको निस्कर्ष, बानेश्वरमा सहमति खोजिँदै
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफल सकिएको छ । भर्खरै सम्पन्न बैठकले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नको गृहमन्त्री रमेश लेखकले संसदमा जवाफ दिने तर राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।
गृहमन्त्री लेखकको राजीनामा मागेर विपक्षीले संसद अवरुद्ध पारेपछि प्रधानमन्त्री भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु बिहान बालुवाटार पुगेका हुन् । भेटमा लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
उता सभामुख देवराज घिमिरेले सदनको नियमित कारवाही अघि बढाउन सत्तापक्ष र प्रतिपक्ष दलका सचेतकहरुसँग छलफल गरिरहेको बुझिएको छ । सत्ता र विपक्षीहरु आ-आफ्नै रणनीतिमा रहेको र सहमति जुटिनसकेका कारण बिहान ११ बजे बस्ने भनेको प्रतिनिधिसभा बैठक अहिलेसम्म शुरु भएको छैन ।
भिजिट भिसा प्रकरणमा कर्मचारीलाई मात्र दोष दिएर गृहमन्त्रीसहित ‘हाइ प्रोफाइल’लाई उन्मुक्ति दिन खोजिएको प्रतिपक्षी सांसदहरुको जिकिर छ । गृहमन्त्री लेखकको विषयमा कांग्रेसभित्रै पनि दुईथरी मत देखिएका छन् ।
टिप्पणीहरू