ज्ञानेन्द्र शाह र उनका नातीमा राजा हुने गुण नरहेको विश्व हिन्दु महासंघको ठहर
‘राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ ले भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ । संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य घोषणा उनीहरुको माग छ । पूर्व राजा ज्ञानेन्द्र शाह र उनका नाती हृदयन्द्रमध्ये एकलाई श्रीपेच पहिन्याएर नारायणहिटी प्रवेश नगराएसम्म आन्दोलनबाट पछि नहट्ने उद्घोष राजावादीहरुले गरेका छन् ।
यो पृष्ठभूमिमा राजासहितको हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको विश्व हिन्दु महासंघ नेपालले भने आन्दोलनमा आफूहरुको समर्थन नरहेको स्पष्ट पारेको छ । नवराज सुवेदीको नेतृत्वमा राजेन्द्र लिङ्गदेन र कमल थापालगायतका पूर्वपञ्चहरु राजा फर्काउन कस्सिएर लागिरहेकै बेला महासंघका तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
यो आन्दोलनले हिन्दु राष्ट्र कायम हुनेमा विश्वास नरहेको महासंघका वरिष्ठ उपाध्यक्ष प्रविण अधिकारीले बताए । एजेण्डा उस्तै देखिए पनि आफूहरु राजावादी आन्दोलनको पक्षमा नरहेको उनको भनाई छ ।
‘राजावादीले व्यवस्था परिवर्तन गर्ने र हिन्दु अधिराज्य घोषणा गर्ने भनेका छन्, तर त्यसमा हाम्रो कुनै समर्थन वा ऐक्यवद्धता छैन’, उनले जनआस्थासँग भने, ‘उनीहरूले गर्न लागेको आन्दोलन राजनीतिक अभ्यास हो, हामी चाहिँ विशुद्ध धार्मिक अभ्यास मात्रै गर्छौ ।’
राजसंस्था फर्किहालेमा पनि सम्भावित ‘राजा’ भन्दै चर्चामा आएका पात्रहरुमा हिन्दु अधिराज्य घोषणा गर्ने साहस नभएकोसमेत उनले खुलासा गरे । ‘अहिले सामाजिक सञ्जालमा हुनेवाला राजा भन्दै ज-जसको नाम प्रचार गरिएको छ, उनीहरुमा त्यो साहस र विशेषता नै छैन, यो कुरामा महासंघ स्पष्ट भएरै तटस्थ बसेको हो’, उनले भने ।
महासंघका अन्य पदाधिकारीले पनि राप्रपालगायत राजावादी संघ संस्था र त्यसका नेताले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि मात्रै हिन्दु अधिराज्य घोषणाको नारा भजाइरहेको टिप्पणी गरेका छन् । कमल थापाले हिजो आन्दोलनको रुपरेखाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रसँग संवाद गरेर उनका नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने बताएका थिए ।
तर, महासंघका पदाधिकारी भन्छन्, ‘वीरेन्द्रसम्म आउँदा उनको गुण, स्वभाव, विचार र ज्ञानले राजाको झल्को दिन्थ्यो, त्यसपछि जो जति राजा भए, उनीहरुमा राजाको गुण, विशेषता, विचार नै भएन । अहिले हिन्दु राज्य घोषणाको नारा घन्काएका छन्, तर त्यो आँट हुनेवाला भनिएका राजाहरुमा कदापी देखिदैँन ।’
राजावादीहरुले अहिलेसम्म आन्दोलनको लागि महासंघसँग कुनै समन्वयको प्रस्ताव नगरेको पनि ती पदाधिकारी जानकारी दिए । ‘उनीहरु आए भने पनि हामी तटस्थ नै बस्छौ, राजनीतिक कोर्षको लागि धर्मलाई बली दिनु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ’, उनले थपे ।
टिप्पणीहरू