निलम्बित बालेनका राजुको ठाउँमा विष्णु

निलम्बित बालेनका राजुको ठाउँमा विष्णु

काठमाडौं महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले पाएका छन् । अवैध नगर प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बनमा परेपछि उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख तोकिएको हो । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले उनलाई पत्राचार गर्दै प्रमुखको काम गर्न निर्देशन दिएका छन् । ‘तपाईँलाई अर्को आदेश वा व्यवस्था नभएसम्म आजैका मितिबाट लागु हुनेगरी काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको प्रमुखको जिम्मेवारी तोकिएको छ । तोकिएको जिम्मेवारीमा रही कामकाज गर्नुहुन निर्देशन गरिन्छ’,पत्रमा भनिएको छ । 

मेयर बालेन्द्र (बालेन) साहको निर्देशन भन्दै कार्यालयमा प्रवेश रोक्ने पाण्डेलाई गुरागाईँले गत जेठ ६ गते एक हप्ताभित्र जवाफ दिनेगरी सात बुँदे स्पष्टीकरण सोधेका थिए । तर, चित्तबुझ्दो जवाफ नआएपछि उनलाई हिजो ६ महिनाका लागि निलम्बन गरिएको हो । 

जोशीभन्दा जुनियर पाण्डेलाई बालेनले एसएसपीमा बढुवा गरेर कामु प्रमुखको जिम्मेवारी दिएका थिए । कामुको कार्यावधि बढीमा ६ महिनाको हुने भएपनि उनी साढे दुई वर्षदेखि प्रमुखको जिम्मेवारीमै छन् ।

टिप्पणीहरू