काँग्रेससँग स्वर्णिमको वार्ता,रास्वपामा रडाको

काँग्रेससँग स्वर्णिमको वार्ता,रास्वपामा रडाको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिद्वय डोलप्रसाद उर्फ डिपी अर्याल र डा. स्वर्णिम वाग्लेबीचको अन्तरकलह पुरानै हो । सभापति रवि लामिछाने जेल गएपछि कार्यवाहक पाउन होडबाजी गरेका यी दुईको कलह पछिल्लो समय भने बाहिरै छताछुल्ल हुन थालेको छ । 

स्वर्णिमले हिजो सल्लाह नगरी नेपाली कांग्रेससँग बैठक गरेपछि डिपी रिसाएको बुझिएको छ । स्रोतका अनुसार उनले कांग्रेससँग बार्गेनिङ गरेर पार्टीलाई बदनाम गराएको भन्दै स्वर्णिमसँग रुखो कुरा गरेपछि विवाद भएको हो । 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका विपक्षीहरुले हिजो थप रणनीति तय गर्न छलफल गरेका थिए । लगत्तै उनीहरु सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहभागी भए । त्यहाँबाट उठेपछि रास्वपा उपसभापति वाग्ले पार्टी सचेतक सन्तोष परियार र सहप्रवक्ता मनिष झालाई लिएर संसद भवनमै रहेको शंकर हलमा छिरेका थिए । जहाँ पहिलेदेखि नै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे थिए । 

त्यहाँबाट उठेपछि रास्वपा उपसभापति वाग्ले पार्टी सचेतक सन्तोष परियार र सहप्रवक्ता मनिष झालाई लिएर संसद भवनमै रहेको शंकर हलमा छिरेका थिए । जहाँ पहिलेदेखि नै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे थिए ।

झण्डै एक घण्टासम्म चलेको छलफल निष्कर्षविहीन भएको बताइए पनि त्यही बैठकले स्वर्णिम र डिपीबीच भने असमझदारी पैदा गरिदियो । जानकार स्रोत भन्छ, ‘स्वर्णिम दाइले दुई जनालाई लिएर कांग्रेससँग संवाद गरेकाे डिपी सरलाई पटक्क मन परेको छैन, सभापतिज्यू (रवि लामिछाने)माथि कांग्रेसले गरेको व्यवहार बिर्सिएर फेरि त्यहीसँग गलत व्याख्यालाई बल पुग्नेगरी छलफल गरेपछि डिपी सर रिसाउनुभएको हो ।’  

कांग्रेससँग संवाद गर्न स्वर्णिम अग्रसर भएको खबर डिपीले कारागारभित्र रहेका सभापति लामिछानेलाई समेत जानकारी गराइसकेको बताइन्छ । यता लामिछानेले भने गृहमन्त्री लेखकको राजीनामालाई आफ्नो जेल सरुवासँग लेनदेन गर्न लागेको ठान्नेहरु पनि रास्वपामै छन् । 

लामिछानेको हकमा लचिलो बन्न आग्रह गर्दै डिपीसहितका नेताहरुले कांग्रेस-एमालेका शीर्ष नेतासमक्ष सन्देश नपुर्याएका पनि होइनन् । तर,उनले चाहेजस्तो भएन । त्यसयता डिपी कुनै हालतमा कांग्रेससँग संवाद र सहमति नगर्ने मनस्थितिमा पुगेको र अरु नेताले पनि नगरुन भन्नेमा रहेको स्रोतको भनाई छ । 

‘त्यतिबेला पार्टीको सन्देशलाई बेवास्ता गरेर उल्टो बदनाम गर्न लागेपछि डिपी सर टाढै बस्न रुचाएको देखिन्छ, यस्तो बेला स्वर्णिम दाइ फेरि संवाद गर्न कस्सिएपछि उहाँलाई मन नपरेको हो’, स्रोतले सुनायो, ‘हुन त स्वर्णिम दाइले पनि आफू प्रतिपक्षी हुँ भनेर बिर्सनु हुँदैनथ्यो, यसरी कांग्रेससँग छुट्टै संवाद गर्दा अन्य विपक्षी दलहरुको विश्वास गुमाउने डर हुन्छ, जनतामा पनि गलत सन्देश जान्छ  ।’

दुई उपसभापतिबीच मनमुटाव देखिएपछि पार्टीपंक्ति भने अलमलमा परेको छ । डिपी र स्वर्णिमले पार्टीभित्र आ-आफूलाई हावी गराउन खोजेपछि सुमना श्रेष्ठ,सोभिता गौतम लगायतका नेता कसको रणनीतिलाई पछ्याउने भन्नेमा अन्योलग्रस्त रहेको बुझाई तलका कार्यकर्ताको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नदाउँदासम्म संसद अवरोध गर्ने विषयमा उनीहरु एकमत देखिए पनि पार्टीका अन्य निर्णयहरुमा भने उनीहरूले असमञ्जसता प्रकट गर्दै आएको बुझिएको छ ।

टिप्पणीहरू